नागढुङ्गा सुरुङ छिचोलिँदा
२०८० साउन २२ (७ अगस्ट २०२३) गते नागढुङ्गा सुरुङ हुँदै ताजा हावा वारपार भयो। नेपालले जापान सरकारको सहयोगमा पहाडी क्षेत्रमा सवारीसाधन सञ्चालनका लागि सुरुङ मार्ग निर्माण गरिरहेको छ। यस कठिन आयोजनामा जापानका कम्पनीहरूले धेरै नेपालीसँग मिलेर हरेक दिन कडा मेहनत गरिरहेका छन्। यस चुनौतीपूर्ण आयोजनामा जापानले निरन्तर योगदान गरिरहेकामा नेपालका लागि जापानको राजदूतका हैसियतमा म ज्यादै खुसी छु।
यो आयोजनालाई यस क्षेत्रको आर्थिक र सामाजिक विकासमा डो-याउने यातायातको सुविधा मात्र नभई भविष्यमा नेपालको विकासका लागि लगानीका रूपमा पनि लिन सकिन्छ। यो आयोजना पूर्ण रूपमा सम्पन्न हुन अलिकति मात्र बाँकी रहे पनि यस अवसरमा यस महत्त्वपूर्ण आयोजनाबारे मेरा केही विचार व्यक्त गर्न चाहन्छु।
पाँच करोड वर्षपहिले
यस आयोजनाबारे कुरा गर्नुअघि नेपालको उत्पत्ति तथा आयोजनास्थललाई फर्केर हेर्नु आवश्यक हुन्छ। टेक्टोनिक प्लेट सिद्धान्त अनुसार हिमालयहरू चार–पाँच करोड वर्षअघि भारतीय उपमहाद्वीपीय प्लेट युरासियाली प्लेटसँगको ठक्करबाट निर्माण भएका हुन्, जुन करिब सात करोड वर्षअघि सुरु भएको थियो। सगरमाथा शिखर क्षेत्रमा सामुद्रिक लिलीको अवशेष भेटिएको तथा पहाडी चट्टानमा नुनको प्रचुरता पाइएका आधारमा हिमालय क्षेत्र समुद्री सतह रहेको प्रमाणित हुन्छ। हिमालय पृथ्वीकै सबैभन्दा कान्छो पर्वतशृङ्खला हो र हिमालय क्षेत्रको पश्चिमी भागमा रहेका नाङ्गा पर्वत अहिले विश्वमा नै सबैभन्दा चाँडो बढिरहेका पर्वत हुन्। यस्ता परिवर्तनशील हिमालय पर्वतमुनि सुरुङ निर्माण गर्नु कठिन प्रक्रिया हो, जसमा त्रुटिपूर्ण खण्डित क्षेत्र (फल्ट फ्र्याक्चर जोन्स) र भूमिगत जलमार्ग जस्ता भौगर्भिक विषयका लागि सूक्ष्म दृष्टिकोण र प्रविधिको आवश्यकता पर्दछ। यस्तो कार्य गर्दा दैनिक रूपमा अकल्पनीय कठिनाइको सामना गर्नुपर्ने हुन्छ। नेपाललाई जापान सरकारले प्रदान गरेको सहायता कार्यान्वयनका साथै जापानी कम्पनीहरू यस्तो भूक्षेत्रीय संवेदनशील चुनौतीको सामना गरिरहेका छन्।
साठी वर्षअघि
विगतमा निर्माणस्थलमा जापानी कम्पनीहरूले सामना गरेका कठिनाइलाई चित्रण गर्न म जापानमा ६० वर्षअघि भएको घटनालाई प्रस्तुत गर्न चाहन्छु। जापानी भाषामा कुरोयोन नामले आमरूपमा चिनिने कुरोबे ४ नम्बर बाँध आजभन्दा ठ्याक्कै ६० वर्षअघि सन् १९६३ जुनमा पूरा भएको थियो। त्यस बेला मानिसहरूले यसलाई शताब्दीकै सबैभन्दा ठुलो निर्माण परियोजनाका रूपमा लिएका थिए। पछि यस कार्यलाई औपन्यासिक रूपमा लेखियो र चलचित्रका रूपमा, टेलिभिजन नाटक शृङ्खला तथा वृत्तचित्र कार्यक्रमका रूपमा प्रसारण गरियो। अझै पनि धेरै जापानी त्यसको सम्झना गर्दछन्। कुरोबे बाँधको पहिलो निर्माण खण्डको जिम्मेवारीमा रहेको एउटा निर्माण कम्पनीको उत्तराधिकारीका रूपमा रहेको एउटा कम्पनी अहिले नेपालको नागढुङ्गामा प्राकृतिक चुनौतीका बिच निर्माण कार्य गरिरहेका सिभिल इन्जिनियरिङ कम्पनीहरूमध्ये एक हो। त्यस कम्पनीसँग नेपालीमाझ बिपी राजमार्ग भनेर चिनिने सिन्धुली सडक निर्माणमा धेरै वर्षको अनुभव पनि छ। त्यस कम्पनीको आदर्श वाक्य “BIRYU-KESSHU (सूक्ष्म कणहरूको एकत्रीकरण)” हो। यस आदर्श वाक्यले नेपालीमा ‘एक थुकी सुकी, सय थुकी नदी’ भने जस्तै “हामी प्रत्येकसँग थोरै शक्ति हुन सक्छ तर जब हामी आफ्नो शक्तिलाई एकठ्ठा गर्छौं, त्यस बेला हामी ठुलो ऊर्जा प्राप्त गर्न सक्छौँ” भन्ने भावनालाई अभिव्यक्त गर्दछ। यसै संस्थागत आदर्श वाक्य अन्तर्गत नागढुङ्गा निर्माणस्थलमा जापानी र नेपाली नागरिक दैनिक रूपमा एकसाथ काममा जुटिरहेका छन्।
अहिले
नागढुङ्गा सुरुङ २.६८ किलोमिटर लामो सडक सुरुङ हो, जसमा सवारी आवागमनका लागि दुई वटा लेन हुने छन्। यो नेपालमा यस प्रकारको पहिलो सुरुङ मार्ग हो। आयोजनाको कार्य सन् २०१९ मा सुरु भयो र मुख्य सुरुङ खन्ने काम तथा सुरुङभित्र र बाहिर आवश्यक सुविधाहरू निर्माणको कार्य अझै जारी छ। मुख्य सुरुङ पूरा गर्न अझै केही समय लाग्ने भए पनि पूर्व र पश्चिम दुवै तर्फबाट खनिएको सहायक सुरुङ भने अन्ततः यसै वर्षको साउन २२ (७ अगस्ट २०२३) गते छिचोलिएको छ। छिचोलिएको त्यस समयमा सहायक सुरुङ भएर ताजा हावा वारपार भयो। त्यो अन्तिम विस्फोटको प्रत्यक्षदर्शी हुन म स्वयम् त्यहाँ उपस्थित भएको थिएँ। जापान तथा नेपालका अधिकारीहरू एवं कर्मचारीहरूले आफ्नो सफलताको खुसीलाई एकसाथ साझेदारी गरेको दृश्यले मलाई भावविभोर बनाइदियो।
भविष्य
यस्तो अविस्मरणीय दृश्यको साक्षी हुँदै मैले जापानको सरकारी विकास सहायता (ओडिए) परियोजनाहरूको विशेषताका रूपमा ‘प्रविधि हस्तान्तरण’ को महत्व पुनः पुष्टि भएको अनुभव गरेँ। जापान सरकारले जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) मार्फत धेरै प्राविधिक सहायताका कार्यक्रम विस्तार गर्दछ, जस अन्तर्गत जापानमा विभिन्न तालिम र स्थलगत अध्ययन भ्रमण पर्दछन्। यी प्राविधिक सहायताका कार्यक्रममा मात्र सीमित नभई जापानी आयोजनामा पूर्वाधार निर्माण स्थलमा पनि प्रविधि हस्तान्तरणको पक्ष हुन्छ। यस सुरुङ निर्माण आयोजनामा जापानी र नेपालीले जापानी उच्च प्रविधि प्रयोग गरी स्थलगत रूपमा उत्पन्न चुनौतीको सामना गर्दै एकसाथ काम गर्दै छन्। यस कठिन कार्यबाट प्राप्त अनुभवले भविष्यका लागि नेपाली अधिकारी तथा कामदारको सिपमा अवश्य सुधार गर्ने छ।
अर्को शब्दमा यो आयोजना जापानी सरकारी विकास सहायताको पूर्वाधार आयोजना हो तर त्यसभन्दा माथि यसले भविष्यमा नेपाली इन्जिनियरबाट गरिने नेपालमा सडक सुरुङहरूको सङ्ख्या विस्तारका लागि मूर्त र अमूर्त आधार तयार पार्ने छ भन्ने विश्वास छ। हिमालयले घेरिएको नेपालको विकासमा यो आयोजना धेरै अर्थले अभूतपूर्व र ऐतिहासिक कोसेढुङ्गा हो। म निकट भविष्यमा नेपालको पहिलो सवारी सुरुङ निर्माण सम्पन्न भई निर्वाध रूपमा सवारी आवागमन भएको हेर्न र धेरै नेपाली जनतासँग खुसी बाँड्ने दिनको साक्षी हुन व्यग्र प्रतीक्षामा छु।
लेखक नेपालका लागि जापानका राजदूत हुनुहुन्छ।
(अङ्ग्रेजीबाट भावानुवाद : केदार भट्टराई)