चन्द्रागिरिका २ स्थानसहित यस वर्ष उपत्यकामा २७ पार्क बनाउने विकास प्राधिकरणको तयारी

Thankot Times

थानकोट ।

काठमाडौं उपत्यका विकास प्राधिकरण (केभीडीए)ले उपत्यकाभित्र चालु आर्थिक वर्ष २०८०/८१ मा २७ वटा पार्क बनाउने तयारी गरेको छ । उपत्यका भित्रका अतिक्रमित सार्वजनिक जग्गाको संरक्षण गर्ने उद्देश्यले पार्क निर्माण गर्ने योजना बनाएको केभीडीएले बताएको छ ।

केभीडीए अन्तर्गतका जिल्ला आयुक्तको कार्यालयले काठमाडौं, भक्तपुर र ललितपुरमा पार्क निर्माण गर्न लागेका हुन् ।

तीनवटै जिल्लाका आयुक्तका कार्यालयहरूले कात्तिक अगावै पार्क निर्माणको लागि ठेक्का सम्झौता गरिसक्ने केभीडीएका सूचना अधिकारी सौरब ढकालले बताए ।

‘अर्थ मन्त्रालयले कात्तिक मसान्तभित्र ठेक्का सम्झौता गर्न र सम्झौता नभए बजेट फ्रिज हुन्छ भनेको छ, सोहीअनुरूप पार्क निर्माणको तयारी हुन्छ’, उनले भने ।

काठमाडौं, भक्तपुर र ललितपुरमा निर्माण हुनेछन् । ती जिल्लामा पार्क निर्माणको लागि चालु आर्थिक वर्षमा दुई करोडभन्दा बढी बजेट विनियोजन भएको छ ।

केभीडीएका अनुसार बहुवर्षे पार्कलागि पनि बजेटमा रकम राखिएको छ ।

यस वर्ष सबैभन्दा बढी पार्क काठमाडौं जिल्लामा बन्ने केभीडीएको बजेटमा उल्लेख छ ।

जिल्ला आयुक्त कार्यालयको काठमाडाैंको अग्रसरतामा कीर्तिपुर नगरपालिका वडा नम्बर ४ मा चम्पादेवी पार्क बन्दैछ । यो बहुवर्षे आयोजना हो । जसको लागि यो वर्ष १५ लाख रुपैयाँ बजेट छुट्यााइएको छ ।

यसैगरी चन्द्रागिरि नगरपालिका वडा नम्बर ८ मातातीर्थ र ९ मच्छेगाउँको सिमानामा रहेको पुच्छर धारा पार्क निर्माण तथा खोला व्यवस्थापनका लागि २० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

यस्तै चन्द्रागिरि वडा नम्बर १३ पुरानो नैकापस्थित विद्यामन्दिर स्कुल अगाडि रहेको सार्वजनिक जग्गामा बगैंचा तथा पार्क निर्माणको लागि जिल्ला आयुक्त कार्यालयको काठमाडाैंबाट १५ लाख छुट्याइएको छ ।

प्रतिकात्मक तस्बिर


Leave a Reply

Your email address will not be published. Required fields are marked *