प्रदेशले बस दिँदा पनि बागमती प्रदेशका दुर्गमबाट क्षेत्रबाट आउँदैन माग, विद्यालयसँग छैन खर्च व्यहोर्ने स्रोत

Thankot Times

थानकोट ।

सामुदायिक विद्यालयलाई अब्बल बनाउँदै शिक्षामा सबैको पहुँच बढाउने उद्देश्यले वाग्मती प्रदेशको सामाजिक विकास मन्त्रालयसँग विद्यालय बस सेवा अनुदान कार्यक्रम छ।

यो अन्तर्गत माग गर्ने सामुदायिक विद्यालयलाई प्रदेश सरकारले बस दिने गरेको छ।

आर्थिक वर्ष २०७६/७७ देखि मन्त्रालयले सामुदायिक विद्यालयमा पढ्ने विद्यार्थीका लागि बस सेवा सुरु गरेको थियो। त्यसका लागि मन्त्रालयले प्रतिविद्यालय २५ लाख रुपैयाँ अनुदान दिँदै आएको छ।

तर, मन्त्रालयले खरिदका लागि रकम उपलब्ध गराए पनि कतिपय दुर्गम जिल्लाका विद्यालयले चलाउन खर्च ब्यहोर्न नसक्दा बस माग गर्न सकेको छैन। बस संचालन गर्न इन्धन, चालक, मर्मतसम्भार, दुर्घटना बीमा, अन्य भैपरि आउने खर्च विद्यालयले नै गर्नुपर्ने भएपछि प्रदेशका दुर्गम जिल्लाका कतिपय विद्यालयले बस आवश्यक भए पनि राख्न नसेको शिक्षा विकास निर्देशनालय बागमती प्रदेशका निमित्त निर्देशक पूर्णबहादुर दर्जीले बताए।

‘विद्यालय बस संचालनका लागि विद्यालयले खर्च ब्यहोर्नु पर्ने हुन्छ। विद्यालयले संचालन खर्च गर्न नसकेको अवस्थामा सम्बन्धित स्थानीय तहले ब्यहोर्ने गरी प्रतिबद्धतापत्र चाहिने हुन्छ,’ निमित्त निर्देशक दर्जीले भने, ‘संचालन नै गर्न नसकेपछि हामीले बस मात्रै उपलब्ध गराएर पनि हुँदैन।’

उनका अनुसार सुगम जिल्लाका विद्यालयबाट बसको माग धेरै आउने गरेको छ। चितवन, मकवानपुर, काठमाडौं, धादिङ जिल्लाका विद्यालयबाट बस माग आउने गरेका छन्। रसुवा, नुवाकोट, काभ्रे, रामेछाप, सिन्धुपाल्चोकका विद्यालयबाट भने बसको माग त्यति आउने गरेको छैन। बस संचालन गर्न खर्चको स्रोत नहुँदा बसको माग नआएको सरोकारवाला बताउँछन्।

मन्त्रालयका सचिव रामकृष्ण पुडासैनीका अनुसार वाग्मती प्रदेशका १३ वटा जिल्लामध्ये धेरै विद्यार्थी हुने, टाढाबाट आउनुपर्ने अवस्था भएका विद्यालयको मापदण्ड हेरेर बस उपलब्ध गराइँदैछ। तर दुर्गमका विद्यालयमा भने बस पुग्न सकेको छैन। गत आर्थिक वर्ष २०७९/८० मा मन्त्रालयले २७ वटा बस वितरण गरेको थियो। त्यस क्रममा प्रदेशकै दुर्गम मानिने रसुवा जिल्लाको एउटा मात्रै विद्यालयमा बस पुगेको थियो। गत वर्ष रसुवा जिल्लाको कोभेनस्यामे वाङछेल माविमा मात्रै बस पुगेको हो।

त्यसैगरी, प्रदेशको अर्काे दुर्गम जिल्ला रामेछापमा पनि एक विद्यालयमा मात्रै बस पुगेको छ। जिल्लाको डहु माविमा मात्रै बस पुगेको हो। सिन्धुपाल्चोकले पनि एउटा विद्यालय बस पाएको छ। सिन्धुपाल्चोकको चाैतारा साँगाचोकगढी नगरपालिकाको सिद्धिगणेश माविले बस पाएको हो।

गत वर्ष मकवानपुर, धादिङ र चितवनका विद्यालयले सबैभन्दा धेरै बस पाएका छन्। ५ वटा बस पाउने जिल्ला मकवानपुर छ। धादिङका विद्यालयले ४ र चितवनका ४ विद्यालयले बस पाएका छन्। मकवानपुरको थाहा नगरपालिकाको बागेश्वरी मावि, बागमती गाउँपालिकाको जनता मावि, हेटौंडाको महेन्द्र मावि, इन्द्रसरोवर गाउँपालिकाको सरस्वती बालबोधिनी मावि र मकवानपुरगढी गाउँपालिकाको चण्डिका माध्यमिक विद्यालयले बस पाएका छन् बीजमाण्डुमा खबर छ।

त्यसैगरी, काठमाडौंको १, काभ्रेको २, दोलखाको २, नुवाकोटको २ वटा सामुदायिक विद्यालयमा बस पुगेको छ। भक्तपुरको १, ललिपुरको १ र सिन्धुलीको २ वटा सामुदायिक विद्यालयमा बस पुगेको शिक्षा विकास निर्देशनालय बागमती प्रदेश कार्यालयले जनाएको छ।

पाँच वर्षमा ४१ विद्यालयलाई बस

सामाजिक विकास मन्त्रालयले बितेको पाँच वर्षमा वाग्मती प्रदेशका ४१ वटा विद्यालयलाई बस खरिद गरेर पठाइसकेको छ । जसमध्ये मकवानपुरको ५ वटा सामुदायिक विद्यालयमा बस संचालन भइसकेको छ।

काभ्रेको ५ वटा विद्यालय, सिन्धुलीको ८ वटा सामुदायिक विद्यालय, सिन्धुपाल्चोकको ४ वटा विद्यालय, चितवनका ३ र धादिङको ३ वटा सामुदायिक विद्यालयमा बस संचालनमा छन्। काठमाडौंको २, ललितपुरको २, भक्तपुरको २, दोलखाको ३, नुवाकोटको २, रामेछापको २ र रसुवाको एक सामुदायिक विद्यालयमा बस संचालनमा छन्।

सामुदायिक विद्यालयमा बस सेवाले शैक्षिक गुणस्तरलाई समेत सहयोग पुर्‍याउने अपेक्षा सरकारले लिएको छ।

सामाजिक विकास मन्त्री कुमारी मोक्तानले सामुदायिक विद्यालयमा बस सेवाले विद्यार्थी खुशी हुनुका साथै विद्यालय जाने वातावरण पनि बनेको बताइन्। उनले बस सेवाले सामुदायिक विद्यालयका विद्यार्थी घण्टौं हिँड्नुपर्ने समस्याको सामाधान हुनुका साथै विद्यार्थीमा पढ्ने उर्जा मिल्ने दाबी गरिन्।

उनले भनिन्, ‘सामुदायिक विद्यालयलाई अब्बल बनाउँदै अति विपन्न विद्यार्थीको भविष्य सुनिश्चित गर्न हामीले बस सेवा संचालन गरेका हौं।’


Leave a Reply

Your email address will not be published. Required fields are marked *