नागढुङ्गा सुरुङ मार्गको ९० प्रतिशत निर्माण कार्य पूरा, इकुभेसन सुरूङ खन्न अब ४४ मिटर बाँकी
थानकोट ।
चन्द्रागिरि नगरपालिका-१ दहचोकदेखि धादिङको सिस्नेखोलासम्मको नागढुङ्गा सुरुङ मार्गको निर्माण कार्य ९० प्रतिशत पूरा भएको छ ।
मुख्य सुरूङ मार्गको कुल २ हजार ६ सय ८८ मिटर मध्ये २१७२.८० मिटर सुरूङ खनिसकिएको अायोजनाले जनाएको छ ।
यसैगरी इकुभेसन सुरूङ मार्ग भने ४४.२० मिटर मात्रै खन्न बाँकी रहेको छ ।
जसको कुल लम्बाइ २५५७ मिटर रहेकोमा हिजो सोमबारसम्म २५१२.८० मिटर सुरूङ खनिसकिएको छ।
समग्रमा आयोजनाको भौतिक प्रगति भने ७५ प्रतिशत पूरा भएको छ ।
यसैबीच भौतिक पूर्वाधार मन्त्री तथा यातायात मन्त्री प्रकाश ज्वालाले मंगलबार बिहान सो सुरूङ मार्गको अवलोकन गरेका छन् । सो क्रममा राज्यमन्त्री नन्दा चपाइँ, सचिव केशवकुमार शर्मा, सडक विभागका महानिर्देशक सुशीलबाबु ढकालसमेत नागढुंगा पुगेका थिए ।
सुरूङ मार्ग अवलोकनपछि मन्त्री ज्वालाले एक वर्ष भित्र नागढुङ्गा-सिस्नेखोला सुरुङमार्ग निर्माण सम्पन्न हुने बताए ।