सुरू भयो महिना दिन लामो मत्स्यनारायण मेला, मालपुवा दान गरेमा भगवान नारायण खुसी हुने विश्वास

Thankot Times

थानकोट । 

तीन वर्षमा एक पटक महिना दिनसम्म मनाइने मत्स्यनारायण मेला आजबाट सुरू भएको छ।

आजबाट सुरू मेला साउन ३१ गते सकिनेछ। 

मेलाका अवसरमा चन्द्रागिरि नगरपालिका वडा नं ९ मच्छेगाउँस्थित मत्स्यनारायण मन्दिरमा बिहानबाटै भक्तजनहरूको भीड लागेको छ । 

तीन वर्षअघि कोरोना भाइरस महामारीका कारण यहाँ मेला लागेको थिएन् । यसपटक करिब २० लाख भक्तजनले मत्स्यनारायण मेला भर्ने अपेक्षा गरिएको पुरूषोत्तममास मेला व्यवस्थापन समितिले जनाएको छ। 

पुरुषोत्तम माससमेत भनिने अधिकमास परेका बेला मत्स्यनारायणमा स्नान गरी मालपुवा दान गरेमा भगवान् नारायण खुसी हुने धार्मिक विश्वास छ। 

भगवान् विष्णुका दश अवतारमध्ये पहिलो मत्स्य अवतार यहीँको कुण्डमा भएको विभिन्न धार्मिक ग्रन्थ उल्लेख गरिएको छ । मत्स्यनारायणका रूपमा भगवान विष्णुले पहिलो अवतार लिएको स्थानको रुपमा अधिकमासको समयमा मन्दिरमा पूजा आराधना गर्न मिल्ने धार्मिक विश्वास छ । मलमास अवधिमा अन्य मन्दिरहरूमा पूजापाठ नचल्ने बताइन्छ । 

सबै तस्बिरः प्रकाश गोपाली ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *