काठमाडाैं शिक्षा क्याम्पसका प्रमुखसँग चन्द्रागिरिका प्रधानाध्यापकहरूको बैठक, के-के भयो निर्णय ?
थानकोट ।
चन्द्रागिरि नगर क्षेत्रमा रहेका सामुदायिक तथा संस्थागत विद्यालयका प्रधानाध्यापहरू तथा सतुगंलमा रहेको काठमाडाैं शिक्षा क्याम्पसका प्रमुखबीच विभिन्न विषयमा छलफल भएको छ ।
शनिबार क्याम्पसमा आयोजित बैठकमा चन्द्रागिरि नगरको शैक्षिक क्षेत्रको विकास र विस्तार कसरी गर्ने भन्ने सन्दर्भमा छलफल भएको बताइएको छ ।
सो क्रममा नगरका विभिन्न विद्यालयका प्रधानाध्यापकहरूले काठमाडाैं शिक्षा क्याम्पसले गुणस्तर सुनिश्चतता तथा प्रत्यायन (क्यूएए) प्राप्तिका लागि चाहिने गतिविधिमा सहकार्य गर्न प्रतिबद्धता जनाएको क्याम्पस प्रमुख शत्रुध्न प्रसाद गुप्ताले जानकारी दिनुभयो ।
बैठकमा क्याम्पस प्रमुख गुप्ताले नगर क्षेत्रका विद्यालयबाट विभिन्न तह उत्तीर्ण गरेका विद्यार्थीहरूका लागि उच्च शिक्षाकाे अध्ययनमा क्याम्पसले छात्रवृत्ति उपलब्ध गराउने विषयमा समेत प्रतिबद्धता जनाउनुभएको थियो ।
बैठकले नगरपालिकासँग समन्वय गरी नगर शिक्षा नीतिको पुनरावलोकनका लागि अनुरोध गर्ने, नगर क्षेत्रबाट माध्यमिक शिक्षा परीक्षा उत्तीर्ण गरेका विद्यार्थीहरूलाई नगर क्षेत्रमै कक्षा ११ र १२ पढ्ने अभियान अगाडी बढाउने विषयमा समेत ऐक्यबद्धता जनाएको बताइएको छ।