काठमाडौं उपत्यकाको खानेपानीकै श्रोतमा रोग फैल्याउने जीवाणु भेटियो
थानकोट ।
केही दिनयता समुदायमा झाडापखालाका बिरामीको संख्या बढ्दो छ । देशका विभिन्न भागमा टाउको दुख्ने, ज्वरो आउने झाडापखाला हुने जस्ता समस्या देखिएका छन् ।
केही जिल्लामा यसखाले समस्याले विद्यालयमा नियमित पठन पाठन पनि हुन छाडेको छ । उपत्यकामा भने पानीको स्रोतमै कोलीफर्म पुष्टि भइसकेपछि यसले जोखिम निम्त्याउने डर रहेको छ ।
केहिदिन यता, बर्षा सक्रिय हुँदा पानीजन्य रोग बढ्दो क्रममा रहेका छन् । विभिन्न जिल्लासहित काठमाडौंमा पनि झाडापखालाका बिरामी देखिने क्रम बढ्दो छ । केही समय अगाडि मात्र इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले गरेको अनुगमनमा पानीका विभिन्न स्रोतहरुमा फेकल कोलीफर्म भेटिएको जानकारी सार्वजनिक गरेको थियो ।
सबैभन्दा बढी इनारको, त्यसपछि धारा, ट्यांकर, मेलम्ची र जारको पानीमा फेकल कोलीफर्म भेटिएकोे छ । जसका कारण पानीजन्य रोगको प्रकोप बढेको जनाइएको छ । फेकल कोलीफर्ममा विशेषत ईकोलाई नामक जीवाणुले कडा झाडापखाला तथा मिर्गौलामा समेत असर गराउन सक्दछ । विगतमा पनि बजारमा उपलब्ध खानेपानीमा फेकल कोलीफर्मको मात्रा अत्यधिक पाइएको थियो । खानेपानीमा फेकल कोलीफर्म देखिएपछि हैजाको जोखिम हुने विज्ञ बताउँछन् इमेज खबरमा समाचार छ ।
पानीमा फेकल कोलीफर्म देखिएको अवस्थामा हैजाबाहेक दिसाजन्य अरु संक्रामक रोग पनि फैलन सक्ने जोखिम उच्च हुने गर्दछ । हेपाटाईटिस पनि संक्रमितको दिसाबाट सर्ने गर्दछ । गर्मी महिनामा पानीको माग अत्यधिक हुने र त्यसलाई पुरा गर्न खानेपानी कम्पनीहरुले पानीको शुद्धतामा ध्यान नदिँदा पानीमा फेकल कोलीफर्म देखिने गर्दछ । त्यस्तै, घरमा पनि पानीको गुणस्तरमा बेवास्ता भएको खण्डमा यसले प्रकोप निम्त्याउने निश्चित छ ।
वर्षात लागेसँगै पानीजन्य संक्रामक रोग एक पछि अर्को देखिन थालेका छन् । तसर्थ, हाल बजारमा बेच्न राखिएका खानेपानी सुरक्षित छ छैन भनेर सम्बन्धित निकायले अनुगमलाई निरन्तरता दिनु पर्दछ । खानेपानीमा फेकल कोलीफर्मको अवस्था थाहा पाएर त्यसको स्रोत कारण पहिचान गरी समयमा नै समाधान गर्न सके सम्भावित थुप्रै संक्रमणका प्रकोपलाई यथासमयमै रोक्न सकिन्छ ।