दहचोकस्थित आफू जन्मिएको गाउँमा मौलिक कलाशैली झल्किने ३० वटा घर निर्माण गर्दै दिपकराज गिरी

थानकोट ।
कलाकार दीपकराज गिरीले आफू जन्मिएको गाउँ चन्द्रागिरि नगरपालिका वडा नं. १ दहचोकमा मौलिक कलाशैली झल्किने ३० वटा घर निर्माण गर्ने भएका छन् ।
सो को तयारीका लागि बिहीबार गिरीले भक्तपुर नगरपालिकाका मेयर सुनिल प्रजापतिसँग भेट गरेका छन् ।
भेटमा दीपकले सम्पदा शैलीको नमुना घर बनाउँदा कसरी कार्यविधि र शैलीमा काम गर्न सकिन्छ भनेर मेयर प्रजापतिसँग कुराकानी गरेको बताइएको छ । ‘उहाँसँग मैले भक्तपुरले यसमा कसरी काम गरिरहेको छ भनेर बुझें । यो कुरा हाम्रो नगरपालिकामा प्रस्तुत गर्नेछु,’ गिरीले भने ।
स्थानीयसँग मिलेर दीपकले नमुना गाउँ निर्माणको योजना अघि सारेका छन् । नगरपालिकाले कार्यविधि पास गरे भौतिक पूर्वाधार निर्माणको कार्य अघि बढ्नेछ । उनले भने, ‘मलाई पुरानो गाउँ र बस्ती मन पर्छ । यस्तो खालको घरले आकर्षित पनि गर्छन् । विदेश जाँदा यस्तो देखेर पनि खुसी हुन्छु । भक्तपुर हाम्रो लागि नेपालमा गौरव गर्ने थलो पनि हो ।’
लकडाउनको समयमा यस्तो आइडिया फुरेको उनले बताए । ‘घरको बाह्य संरचनालाई पुराना शैलीमा बनाऊँ तर घरभित्र आधुनिकता भित्राऊँ,’ दीपक भन्छन्, ‘यस्तो घर बनाउनेलाई नगरपालिकाले छानासहितका सहुलियत देओस् भन्ने हाम्रो माग छ ।’ यस्तो भौतिक पूर्वाधार तयार पार्न ५-७ करोड रुपैयाँ खर्च हुने उनको भनाइ छ ।
यसबाहेक दीपक दहचोकमा आफ्नै लगानीमा स्टुडियो निर्माणमा समेत व्यस्त छन् ।
उनी यी घरलाई ‘भक्तपुर’ र ‘बन्दीपुर’जस्तो नमुना थलो बनाउन चाहन्छन् । एकातिर सम्पदा संरक्षण र पर्यटन, अर्कोतिर फिल्म छायांकन गर्ने उद्देश्यले दीपक नमुना गाउँ बनाउन कस्सिएका हुन् ।