मातातीर्थ आयुर्वेद औषधालयलाई नरदेवी आयुर्वेद अस्पतालले ‘स्याटेलाइट क्लिनिक’ बनाउने
थानकोट ।
चन्द्रागिरि नगरपालिका र आयुर्वेद चिकित्सालय नरदेवीबीच मातातीर्थमा रहेको आयुर्वेद औषधालयलाई परिष्कृत गरी सेवा प्रदान गर्ने समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
मंगलबार चन्द्रागिरि नगरपालिकाको कार्यालयमा चन्द्रागिरि नगरपालिका र आयुर्वेद चिकित्सालय नरदेवीबीच चन्द्रागिरि नगरपालिका ८ मातातीर्थमा रहेको आयुर्वेद औषधालयलाई आयुर्वेद चिकित्सालय नरदेवीको स्याटेलाइट क्लिनिकको रुपमा सेवा दिने सम्बन्धमा सम्झौता पत्र हस्ताक्षर कार्यक्रम सम्पन्न भएको हो।
सो सम्झाैतापत्रमा चन्द्रागिरि नगरका मेयर घनश्याम गिरी तथा आयुर्वेद चिकित्सालय नरदेवीका निर्देशक डा. प्रदीप के. सी.ले हस्ताक्षर गर्नुभएको हो ।
द्वीपक्षीय हस्ताक्षर कार्यक्रमपछि प्रतिक्रिया दिनुहुँदै मेयर गिरीले आयुर्वेद चिकित्सालयमार्फत चन्द्रागिरि नगरपालिकाका बासिन्दालाई विशेषज्ञ चिकित्सा सेवा प्रदान हुने तथा मातातीर्थ आयुर्वेद औषधालयलाई १५ शैयाको अस्पतालमा स्तरोन्नति गर्ने लगायतका कार्य हुने कुरा जानकारी दिनुभयो।
मेयर गिरीले सो सम्झौता पश्चात नगरपालिकाको आयुर्वेदिक उपचार प्रविधिमा नयाँ आयाम प्रदान हुनेमा विश्वास लिएको जनाउनुहुँदै नगरपालिकाले आगामी आर्थिक वर्षमा मातातीर्थ आयुर्वेद औषधालयमा थप उपकरणको व्यवस्थापन गर्ने र आयुर्वेदिक जडिबुटीको खेतीको लागि पनि विशेष व्यवस्थापन गर्ने बताउनुभयो ।
मातातीर्थ आयुर्वेद औषधालयलाई नरदेवी आयुर्वेद अस्पतालले ‘स्याटेलाइट क्लिनिक’ बनाउने सन्दर्भको सम्झाैता पत्रमा हस्ताक्षर गर्ने कार्यक्रममा चन्द्रागिरि नगरका उपमेयर बसन्ती श्रेष्ठ, वडा नं. ८ का वडाध्यक्ष प्रल्हाद रिजाल लगायत अन्य जनप्रतिनिधिहरू, नगरका प्रमुख प्रशासकीय अधिकृत जीवन प्रसाद आचार्य, चन्द्रागिरि नगरपालिका आयुर्वेद शाखा प्रमुख नारायण प्रसाद आचार्य लगायतको उपस्थिति रहेको थियो ।
Good job