४ सय २० खानी खोजतलासका लागि अनुमतिपत्र प्रदान

थानकोट । 

खानी तथा भूगर्भ विभागले ४२० खानी खोजतलास गर्नका लागि अनुमतिपत्र (लाइसेन्स) प्रदान गरेको छ ।

विभागले चालु आवमा नेपालको खनिजजन्य उद्योग प्रवद्र्धनका लागि मुलुकमा सम्भावित खानीको खोजतलास गर्न ४२० खानीलाई लाइसेन्स प्रदान गरेको हो ।

विभागका सूचना अधिकारी नारायण बाँस्कोटाले फलाम, तामा, सुन, चुनढुंगा, ग्रेनाइट, रुवी, डोलोमाइटलगायत सम्भाव्य खानीको खोजतालसका लागि विभागबाट लाइसेन्स प्रदान गरिएको जानकारी दिए ।

विभागले गत वर्ष ४०५ खानी खोजतलासका लागि लाइसेन्स प्रदान गरेको थियो ।

विभागले चालु आवमा १५९ खानीलाई उत्खननका लागि अनुमति दिएको छ । गत वर्ष १५८ खानीलाई उत्खननका लागि अनुमति दिएको थियो ।

विभागले हालसम्म ५० खानीको पहिचान गरी उत्खननका लागि विभिन्न कम्पनीलाई लाइसेन्स प्रदान गरेको छ । उदयपुर सिमेन्ट कारखाना, हेटौँडा सिमेन्ट उद्योगलाई चाहिने चुनढुंगा खानी विभागले अध्ययन गरेर प्रदान गरेको चुनढुंगा हो ।

विभागका महानिर्देशक डा. सुधीर रजौरेले खानी विभागले यो वर्ष मात्र १० भन्दा बढी स्थानमा खानीको अध्ययन गरिरहेको बताए । उनका अनुसार संखुवासभाको लुहाकोटमा फलाम, भोजपुरको दिङ्लामा तामा, सिन्धुलीको खनियाखर्कमा ग्रेनाइट, धादिङको सुनौलाबजारमा डोलोमाइट, धादिङको गणेश हिमालमा रुवी, रुकुममा तामा, उदयपुरको रतुवामाइमा फलाम, मधेस प्रदेशमा सेरामिक्स र धादिङको बेनीघाटमा चुनढुंगाको अध्ययन भइरहेको छ ।

विभागले खानीको सम्भाव्यता अध्ययन गरिरहे पनि ल्याबमा प्राविधिक कर्मचारीको कमी हुँदा समयमा खानीको रिपोर्ट आउन समस्या हुने गरेको छ । विभागले प्रत्येक वर्ष देशका छुट्टाछुट्टै स्थानमा खानीको सम्भाव्यता अध्ययन गरे पनि त्यसको रिपोर्ट आउन वर्षौँ लाग्ने गरेको छ ।

खनिजजन्य पदार्थको चेकजाँचका लागि विभागको ल्याबमा ११ जनाको दरबन्दी रहे पनि हाल दुईजना मात्र कार्यरत छन् । थोरै जनशक्ति भएका कारण वि.सं. २०७२ सालमा अध्ययन गरेको खानीको रिपोर्ट अहिलेसम्म आउन सकेको छैन ।

सो विभागले चालु आवको फागुन महिनासम्म खानी उत्खननका लागि अनुमति प्रदान तथा लाइसेन्स प्रदान गरेर ३५ करोड ६६ लाख ३३ हजार ४४ रुपैयाँ राजस्व संकलन गरेको छ । गत वर्ष फागुन मसान्तसम्म ९३ करोड ४५ लाख रुपैयाँ राजस्व संकलन गरेको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *