चन्द्रागिरिसहित २० पालिकामा पशु सेवा केन्द्र निर्माण सम्पन्न, बाँकी ८ भवन यसै वर्ष निर्माण भइसक्ने

Thankot Times

थानकोट । 

नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजनाको सहयोगमा देशका २० स्थानीय तहमा पशु सेवा केन्द्र भवन निर्माण कार्य सम्पन्न भएको छ । विश्व बैंकको ऋण अनुदान सहयोगमा सञ्चालित आयोजनाले स्थानीय तहसँगको सहकार्यमा २८ वटा स्थानीय तहमा पशु सेवा केन्द्र निर्माण गर्ने लक्ष्य लिएकामा २० वटा भवनको निर्माण कार्य सम्पन्न गरेको हो ।

आयोजनाका कृषि अर्थविज्ञ सुशील खड्काका अनुसार निर्माण सम्पन्न भएका २० ओटा भवनहरू स्थानीय पालिकालाई हस्तान्तरण गरिएको छ भने बाँकी ८ वटा भवनहरूको निर्माण कार्य चालू आर्थिक वर्षभित्रै सम्पन्न हुनेछन् ।

आयोजनाले स्थानीय तहसँगको सहकार्यमा सम्पन्न गरिसकेका र निर्माण सम्पन्न हुन बाँकी सबै पशु सेवा केन्द्र भवनहरू अत्याधुनिक भेटेरिनरी अस्पताल सञ्चालन गर्न सकिने सुविधायुक्त हुने खड्काले बताएका छन् ।

आयोजनाका अनुसार मैनापोखर, कञ्चन, वाणगंगा, माडी, गल्याङ्ग, मादी, बन्दीपुर, तिनाउ, बेथानचोक, रोङ, बिर्तामोड, धनपालथान, तिरहुत, विष्णुपुर, मालारानी, मुसिकोट, चन्द्रागिरि, बेथानचोक, विनयत्रिवेणी, सुनवल र चौदण्डीगढीमा भवन निर्माण सम्पन्न गरी सम्बन्धित स्थानीय तहलाई हस्तान्तरण गरिसकेको छ ।

तर मकवानपुरगढी, शहीदनगर, हरिऔन, पथरी-शनिश्चरे, फेदिखोला, कविलासी, सियारी र शुक्लागण्डकीमा भने निर्माणको काम अन्तिम चरणमा रहेको छ हलो खबरमा समाचार छ । निर्माण सम्पन्न हुन बाँकी यी ८ वटा भवनहरू चालू आवमै तयार भइसक्ने बताइएको छ ।

आयोजनाका अनुसार एउटा भवन निर्माण गर्न सरदर १ करोड ६५ लाख लागत लागेको छ । खड्काका अनुसार आयोजनाले चन्द्रागिरिमा सम्पन्न गरेको पशु सेवा केन्द्र भवनबाहेक अन्यको हकमा कम्तीमा ३ कठ्ठा क्षेत्रफल नघट्ने गरी निर्माण गरिएको छ । आयोजनाले देशभर समान मोडेलमा निर्माण गरेका भवनमा पशुपन्छीको उपचारका लागि ल्याब, अप्रेशन थिएटर, खोप भण्डार, पोष्टमार्टम तथा औषधि वितरण कक्षसहित ६ वटा कोठा छन् ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गत विश्व बैंकको सहयोगमा आर्थिक वर्ष २०७४/०७५ देखि सुरु भएर ६ वर्ष अवधिका लागि देशभरका ५ प्रदेशका २८ जिल्ला र २ सय ८९ गाउँ तथा नगरपालिकामा आयोजना कार्यान्वयन भइरहेको छ । 

आयोजनाका कृषि अर्थ–विज्ञ खड्काका अनुसार प्रदेश सरकार मातहतका भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रहरूले जिल्ला सदरमुकाममा रहेका साविकका जिल्ला पशु सेवा कार्यालयका भौतिक सुविधाहरू प्रयोग गरे पनि गाउँ तथा नगरपालिकास्तरमा गुणस्तरीय सेवा प्रवाह गर्न आवश्यक भौतिक पूर्वाधार र जनशक्तिको अभाव देखिएकाले सो समस्या समाधानका लागि यी भवनहरू निर्माण हुँदैछन् ।

चन्द्रागिरि नगरपालिकामा निर्माण भएको पशु सेवा केन्द्र भने गत भदाै महिनामा नै उद्घाटन भइ सेवा सुरू भइसकेको छ । 

१ करोड ५८ लाख रूपैयाँमा चन्द्रागिरि नगरमा बन्यो पशु सेवा केन्द्र, पशु चिकित्सकको व्यवस्था छिट्टै


Leave a Reply

Your email address will not be published. Required fields are marked *