मंगलबारबाट कक्षा १२ को परीक्षा, चन्द्रागिरिका कुन विद्यालयको कहाँ पर्यो परीक्षा केन्द्र ?
थानकोट ।
भोलि मंगलबारदेखि सुरु हुने कक्षा १२ को परीक्षाको तयारी पूरा भएको छ ।
राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा महाश्रम शर्माले तयारी पूरा भएकाले परीक्षामा सहभागी हुन सबै परीक्षार्थीलाई आह्वान गरेका छन् । उनले देशभर शान्तिपूर्ण रुपमा परीक्षा सम्पन्न गर्न सबैमा आग्रह गरे । ।
कक्षा १२ को यस वर्षको वार्षिक परीक्षामा देशभरबाट कूल चार लाख ६७ हजार तीन सय ८९ विद्यार्थीले परीक्षा दिन लागेका बोर्डका परीक्षा नियन्त्रक कृष्ण शर्माले जानकारी दिए । परीक्षाका लागि देशभर एक हजार चार सय ५७ परीक्षा केन्द्र निर्धारण गरिएको छ । उनले परीक्षाका लागि केन्द्राध्यक्ष, सह–केन्द्राध्यक्ष, निरीक्षक र सहायक नियुक्त गरी परीक्षाका लागि परिचालन गरिएको जानकारी दिए ।
कार्यालयले सार्वजनिक गरेको सूची अनुसार देशभर एक हजार ४५३ परीक्षा केन्द्र रहनेछन्।
कोभिडको कारण बोर्डले शैक्षिक सत्र २०७७ देखि प्रश्नपत्र प्रकाशन गर्न छोडेको छ। परीक्षा बोर्डले अनलाइन माध्यमबाट पठाउने प्रश्नपत्र परीक्षा केन्द्रले आफैं प्रिन्ट गर्नुपर्नेछ।
यसैबीच चन्द्रागिरि नगरका ८ वटा विद्यालयको परीक्षा केन्द्र चन्द्रागिरि नगरपालिका-७ थानकोट चेकपोष्टस्थित प्रभात मा.वि.मा निर्धारण गरिएको छ । जहाँ काठमाडाैं शिक्षा क्याम्पस, मंगलोदय मा.वि., मंगलोदय बहुमुखी क्याम्पस, भिम मा.वि., ब्राइट फ्युचर मा.वि. जेसिस मा.वि., वेष्ट पोइन्ट मा.वि. र विष्णुदेवी शिक्षा सदन मा.वि.को परीक्षा केन्द्र निर्धारण गरिएको छ ।
यसैगरी एलआई मा.वि. परीक्षा केन्द्र कलंकीस्थानमा परीक्षा केन्द्रमा चन्द्रागिरि नगरका विद्यामन्दिर मा.वि., प्रभात मा.वि. र बलम्बु मा.वि.को परीक्षा केन्द्र निर्धारण गरिएको छ ।
कंकाली मा.वि.का परीक्षार्थीहरूका लागि जनपथ मा.वि. कलंकी परीक्षा केन्द्र निर्धारण गरिएको बोर्डले जनाएको छ ।