व्यवसायी गङ्गा शेरचनको हत्याका अभियुक्त सार्वजनिक, चन्द्रागिरिमा बस्दै आएका थिए अभियुक्त

Thankot Times

थानकोट ।

बागलुङ जिल्लाको बडिगाड गाउँपालिका-३ की होटल व्यवसायी गङ्गा शेरचनको हत्यामा संलग्न तीन जना अभियुक्तलाई प्रहरीले सार्वजनिक गरेको छ ।

शेरचनको हत्यामा संलग्न बागलुङको बडिगाड गाउँपालिका-७ असारे माझखर्क घर भई गलकोट नगरपालिका-१ दुदिलाभाटी बस्ने थम्मनबहादुर घर्ती, मकवानपुरको बितिनी गाउँपालिका-७ घर भई हाल काठमाडौँको चन्द्रागिरि नगरपालिका ढुङ्गेअड्डा बस्ने लोकबहादुर दर्लामी र सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका-२ भर भई हाल काभे्रपलाञ्चोकको धुलिखेल नगरपालिका-७ हुर्का बेइजिङ बस्ने शिवबहादुर तामाङलाई प्रहरीले सार्वजनिक गरेको हो ।

जिल्ला अदालत गुल्मीले पुर्पक्षका लागि कारागार चलान गरेपछि प्रहरीले उनीहरुलाई सार्वजनिक गरेको हो। गत माघ १५ गते गुल्मी मुसिकोट नगरपालिका–७ न्वारमा गङ्गादेवी शेरचनको हत्या भएको थियो। उनको हत्यामा संलग्न भएको तथ्यको आधारमा अभियुक्तलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गल्मीका प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेले बताए ।

५७ वर्षीय शेरचन माघ १५ गते आइतबार बिहान आफ्नै होटलको भुइँमा हात–खुट्टा र मुख सेलो टेपले बाँधिएको अवस्थामा फेला परेका थिए। बागलुङको बडिगाड–३ सिसाखानीकी गङ्गादेवी मुसिकोट नगरपालिका–७ न्वारमा ३० वर्षदेखि होटल सञ्चालन गर्दै आएका थिए ।

भैरहवाबाट तालिमप्राप्त कुकुर झिकाएर अनुसन्धानअघि बढाइएको उक्त घटनामा गुल्मी प्रहरीले लुम्बिनी प्रदेश प्रहरी दाङसँगको समन्वय तथा केन्द्रीय अनुसन्धान ब्युरोको सहयोगमा हत्यामा संलग्न थम्मनबहादुर घर्तीलाई गत फागुनमा पक्राउ गरिसकेको थियो ।

उनै घर्तीको बयानको आधारमा तीन जना मिलेर सामूहिक हत्या गरेको खुलेपछि प्रहरीले अनुसन्धानलाई तीव्रता दिएको थियो। सुरुमा गुल्मीका प्रमुख प्रहरी उपरीक्षक अर्जुन रानाभाट र प्रहरी नायब उपरीक्षक माधवराज खरेलको टोलीले अनुसन्धान गरेको थियो ।

त्यसपछि हत्यामा संलग्न रहेका लोकबहादुर दर्लामी र शिवबहादुर तामाङलाई गत चैत २८ मा धुलिखेलबाट पक्राउ गरिएको थियो। हत्यामा संलग्न पुष्टि भएपछि उनीहरुलाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ। हत्यामा संलग्न एक जना भने फरार छन्। उनको खोजीकार्यलाई तीव्रता दिइएकोे गुल्मी प्रहरीले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *