डब्लुएचओको घोषणा- कोभिड-१९ अब विश्वव्यापी स्वास्थ्य आपतकाल रहेन
थानकोट ।
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कोरोनाभाइरस अब विश्वव्यापी स्वास्थ्य आपतकाल नरहेको घोषणा गरेको छ।
डब्लुएचओका प्रमुख टेड्रोस अधानोम गेब्रेयससले शुक्रबार कोभिड-१९ महामारी विश्वव्यापी स्वास्थ्य आपतकाल नभएको बताएको बिबिसीले जनाएको छ।
यसअघि डब्लुएचओको आपतकालीन समितिको बैठक बसेर कोभिड-१९ लाई विश्व स्वास्थ्य आपतकालबाट हटाउन सिफारिस गरेको थियो।
जनवरी २०२१ मा हरेक साता औसतमा १ लाख कोरोना संक्रमितको मृत्यु हुने गरेको थियो। अहिले यो संख्या ३ हजार ५ सयमा झरेको डब्लुएचओको भनाइ छ।
सन् २०१९ को अन्ततिर चीनको वुहानबाट सुरू भएको कोभिड-१९ महामारीले संसारभरि ७० लाख मानिसको ज्यान लिएको औपचारिक तथ्यांक छ।
डब्लुएचओ प्रमुख गेब्रेयससले उक्त संख्या झन्डै २ करोडको हाराहारीमा भएको बताएका छन्।