पदभार ग्रहण गरेसँगै स्वास्थ्य मन्त्री मोहन बहादुर बस्नेतले गरे यी ४ निर्णय

Thankot Times

थानकोट । 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले मन्त्रालयको जिम्मेवारी सम्हालेका छन् ।

बिहीबार राष्ट्रपति कार्यालयमा पदभार ग्रहण गरेलगत्तै मन्त्री बस्नेतले जिम्मेवारी सम्हालेका हुन् । पद बहालीका क्रममा मन्त्री बस्नेतले स्वास्थ्य सेवा सेवाग्राही मैत्री र सरलीकृत गर्नुकासाथै स्वास्थ्य सेवा सुनिश्चित गर्ने प्रतिबद्धता जनाए ।

उनले पद बहालीका क्रममा विभिन्न चार वटा निर्णयमा दस्तखत गरेका छन्ः 

१. स्वास्थ्य उपचार नियमित सेवाका अलावा महामारीको रुपमा फैलिने कोभिड, डेंगु र अन्य सरुवा रोग फैलिन नदिन तीनै तहका सरकारका साथै दातृ निकाय एवं संघ संस्थाको साझेदारी र लगानीमा स्वास्थ्योपचार विशेष कार्यक्रम सञ्चालन गर्ने ।

२. स्वास्थ्य बीमा कार्यक्रममा सर्वसाधारण नागरिक समेतको सहज पहुँच र सुविधाका लागि सरलीकृत गर्न आवश्यक भएकोले दातृ निकाय समेतको सहभागिता जुटाई प्रभावकारी र विश्वसनीय बनाउने ।

३. आम नागरिकको स्वास्थ्य सेवामा सहज पहुँचका लागि मन्त्रालयले प्रदेश तथा स्थानीय तहहरूमा साधन, स्रोत, स्वास्थ्य उपकरण र सेवा सुविधासहित चिकित्सकहरूलाई अधिकतम परिचालन गर्ने ।

४. स्वास्थ्य सेवा प्रवाहका लागि संघ, प्रदेश र स्थानीय तहहरूमा रहेका अस्पतालहरुबाट भइरहेको उपचारात्मक सेवा, उपलब्ध स्रोत र साधन (औजार उपकरण) को अत्यधिक उपयोग भए, नभएको समेत समग्र क्षेत्रको अनुगमन गरी  मन्त्रीसमक्ष प्रतिवेदन पेश गर्न अतिरिक्त स्वास्थ्य सचिवको नेतृत्वमा अनुगमन समिति गठन गर्ने ।  

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *