समान रूपमा खानेपानी व्यवस्था हुनुपर्ने मागसहित चन्द्रागिरि नगरको मुल ढोकामा रित्ता गाग्री

Thankot Times

थानकोट ।

चन्द्रागिरि नगरपालिका-१२ बलम्बुका स्थानीयहरूले समान रूपमा खानेपानीको वितरणको माग राख्दै नगरपालिकाको कार्यालयमा प्रदर्शन गरेका छन्।

उनीहरूले आइतबार बिहान चन्द्रागिरि नगरपालिकाको कार्यालय बलम्बुमा रित्तो गाग्रीसहित प्रदर्शन गरेका हुन् ।

प्रदर्शनमा सहभागी भएका स्थानीयहरूले रित्ता गाग्री नगरपालिकाको मुख्य ढोकामा लामबद्ध रूपमा राखेका छन्। ती ग्रागीमा ‘एकीकृत खानेपानी योजना लागु गर’, ‘बलम्बुमा खानेपानी अभाव भयो, तपाईंले केही बोलिदिनु न प्लिज’, ‘खानेपानी ऐन तुरुन्त लागु गर’, ‘खानेपानी समस्याको दीर्घकालिन समस्या समाधान गर’ जस्ता माग लेखर टाँसिएका छन् । 

चन्द्रागिरि नगरपालिकामा सबैभन्दा धेरै जनसंख्या रहेको वडा नं. १२ बलम्बुका वडाध्यक्ष न्हुच्छेबहादुर महर्जनसँग खानेपानी समस्याका विषयमा थानकोट टाइम्सले कुरा गर्दा उहाँले वडामा विद्यमान खानेपानी आयोजना (खानेपानी तथा सरसफाई उपभोक्ता समिति)हरूमा देखिएको समस्या समाधानको प्रयास जारी रहेको जानकारी दिनुहुँदै केहीदिन भित्रै अल्पकालीन रूपमा खानेपानीको समस्या हल हुनेमा आफु विश्वस्त रहेको प्रतिक्रिया दिनुभयो ।

उहाँले बलम्बु क्षेेत्रमा खानेपानीका अन्य स्रोतहरू नहुँदा डिपबोरिङको भर पर्नुको विकल्प नरहेको जानकारी दिनुहुँदै खनिएका डिपबोरिङहरूबाट समेत दैनिक रूपमा प्रयोग गर्न नमिल्ने खालको पानी उत्पादन नभएको हुँदा विकल्पका रूपमा चन्द्रागिरि ८ र ६ बाट विगतदेखी नै पानीको व्यवस्थापन भइरहेको बताउनुभयो ।

वडाध्यक्ष महर्जनले सुख्खायामसँगै अन्य वडाबाट ल्याइएको पानीको स्रोतमा समेत कमी हुँदा खानेपानी व्यवस्थापनमा समस्या आएको स्वीकार्नुभयो । 

स्थानीयहरूले गाग्रीसहित प्रदर्शन गरेको विषयमा नगरप्रवक्ता एवं वडाध्यक्ष कृष्णप्रसाद खड्गीसँग जिज्ञासा राख्दा उहाँले नगरका सबै वडाहरूमा विद्यमान खानेपानी आयोजना (खानेपानी तथा सरसफाई उपभोक्ता समिति)हरू एकीकृत रूपमा सञ्चालन गर्ने कार्यका लागि आवश्यक गृहकार्य जारी रहेको जानकारी दिनुभयो ।

प्रवक्ता खड्गीले नगरको खानेपानी ऐनको मस्याैदा तयार पार्न छुट्टै उपसमिति गठन भएको जानकारी समेत दिनुभयो । 

उहाँले भन्नुभयो बलम्बु, बालकुमारी, सतुंगल लगायतका क्षेत्रमा गरिएका डिपबोरिङबाट गुणस्तरीय पानी उत्पदान नभएकोले तत्कालका लागि कसरी नगरबासीहरूमा शुद्ध खानेपानी व्यवस्थापन गर्न सकिन्छ भन्ने बारेमा गम्भीर रूपमा छलफल भइरहेको छ ।

यसैगरी नगरप्रमुख घनश्याम गिरीले नगर क्षेत्रमा विद्यमान खानेपानी उपभोक्ता समितिहरू एकीकृत रूपमा सञ्चालनका लागि नगर खानेपानी बोर्ड गठनको लागि आवश्यक तयारी भइरहेको बताउनुहुँदै अघिल्लो कार्यकालमै गर्ने तयारी भएको खानेपानी समिति एकीकरण केही नीतिगत कारण कार्य सम्पन्न गर्न नसकिएकोमा अब भने नीतिगत सुधार गरेरै उपभोक्ता समितिहरू एकीकरण हुने बताउनुभयो । 

नगरप्रमुख घनश्याम गिरीले चन्द्रागगिरि नगरपालिका १२ बलम्बु लगायतका स्थानको खानेपानी समस्या समाधानको लागि एशियाली विकास बैंक (एडीबी) को सहयोगमा बृहत खानेपानी आयोजना निर्माणको क्रममा रहेको हुँदा सो अवधिसम्मका यी क्षेत्रका नगरबासीहरूका लागि के कसरी खानेपानी सेवा उपलब्ध गराउने भन्ने सन्दर्भमा सम्बन्धित वडाका जनप्रतिनिधिहरू तथा ती वडा सञ्चालित खानेपानी आयोजनाहरूसँग छलफल भइरहेको बताउनुभयो । 

चन्द्रागिरि नगरपालिका १२ बलम्बूमा १२ हजार ९ सय ७७ जना मानिस बसोबास गर्ने गरेको राष्ट्रिय जनगणनाको प्रतिवेदनमा उल्लेख छ ।

चन्द्रागिरि नगरपालिकाका १५ वटा वडाहरूमा करीब ३ दर्जन खानेपानी उपभोक्ता समितिहरू अस्तित्वमा छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *