सदाचारयुक्त शिक्षा आजको आवश्यकता- शिक्षा मन्त्री राई

Thankot Times

थानकोट ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोक कुमार राईले संघीय शिक्षा ऐनको मस्याैदा तयार पार्ने कार्य जारी रहेको बताउनुभएको छ ।

चन्द्रागिरि नगरपालिका-१० सतुगंलस्थित काठमाडाैं शिक्षा क्याम्पसको ३२औं वार्षिकोत्सवका अवसरमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्नुहुँदै मन्त्री राईले सो कुरा बताउनुभएको हो । 

देशको शिक्षा नीति बनिसकेको जानकारी दिनुहुँदै मन्त्री राईले शिक्षा ऐनको मस्याैदा कानुन मन्त्रालयले तयार गरिहेको हुँदा संघीय शिक्षा ऐनको छिटोभन्दा छिटो व्यवस्था गर्नु आफ्नो कार्यकालको प्रमुख जिम्मेवारी रहेको बताउनुभयो । 

ज्ञान र विषयवस्तुमा पूर्ण अधिकार भएपनि यदि कसैले सो ज्ञान अर्को शिक्षार्थीमा सार्न नसकेमा त्यस्ता शिक्षक सफल हुन नसक्ने धारणा राख्नुहुँदै मन्त्री राईले योग्य शिक्षक उत्पादनमा काठमाडाैं शिक्षा क्याम्पस जस्ता सामुदायिक क्याम्पसहरूको अहम् योगदान रहेको बताउनुभयो ।

मन्त्री राईले जुनसुकै उमेर र पदमा पुगेका व्यक्तिहरूले शिक्षा प्राप्त गर्नसक्ने हुँदा शिक्षा प्राप्तिका लागि कुनै समयसीमा नरहने धारणा राख्नुभयो । सो क्रममा मन्त्री राईले सदाचारयुक्त शिक्षा आजको आवश्यकता रहेको समेत बताउनुभयो ।

यसैगरी संघीय सांसद् शुशिला श्रेष्ठले राज्यको लगानी यथोचित रूपमा प्रयोग हुने हो भने शिक्षा क्षेत्रमा नीजि क्षेत्रको आवश्यकता नरहने धारणा राख्नुभयो । 

बागमती प्रदेश सांसद् रमा आलेमगरले सामुदायिक क्याम्पसहरूको भाैतिक संरचनाहरू सुधार भइरहँदा ती क्याम्पसहरूमा अध्यापनरत शिक्षकशिक्षिकाहरू तथा विद्यार्थीहरूको गुणस्तरका सन्दर्भमा गम्भीर रूपमा ध्यान केन्द्रीत गर्नुपर्नेमा जोड दिनुभयो ।

विद्यार्थीहरू देशमा टिकाउने खालको शिक्षा आजको आवश्यकता रहेको बताउनुहुँदै प्रदेश सभा सदस्य आलेमगरले बागमती प्रदेश सरकारले आफ्नो नीति तथा कार्यक्रम तयार गर्ने क्रममा शिक्षा क्षेत्रको विकासका लागि आवश्यक पर्ने नीति तयार गर्न विद्दत वर्गसँग छलफल गर्न आफु सदैव लालायित रहेको बताउनुभयो ।  

यसैगरी सो कार्यक्रममा आफ्नो धारणा राख्नुहुँदै पोखरा विश्वविद्यालयका उपकुलपति प्रा.डा. प्रेमनारायण अर्यालले पोखरा विश्वविद्यालयमा पूर्वीय चिन्तनको कार्यक्रम सुरू हुने जानकारी दिनुभयो । सो क्रममा उपकुलपति प्रा.डा. अर्यालले सामुदायिक क्याम्पसहरूको स्वामित्व स्थानीय निकायहरूले लिनुपर्नेमा जोड दिनुभयो ।  

यसैगरी सो क्याम्पसका प्रमुख एवं नेपाल पब्लिक क्याम्पस संघका नवनिर्वाचित अध्यक्ष शत्रुध्नप्रसाद गुप्ताले देशभरका सामुदायिक क्याम्पसहरूको अवस्था समेतलाई ध्यानमा राख्दै सर्वसम्मत रूपमा संघको नेतृत्व चयन भएको जानकारी दिनुभयो । क्याम्पस प्रमुख गुप्ताले त्रिविले क्याम्पसहरू मर्जरमा लग्नुभन्दा पनि विषयगत रूपमा सम्बन्धन दिँदा क्याम्पसहरू दिगो रूपमा सञ्चालन गर्नका लागि सफल हुन सक्ने धारणा राख्नुभयो  

काठमाडाैं शिक्षा क्याम्पसको ३२औं वार्षिकोत्सवका अवसरमा सो क्याम्पसका विभिन्न कार्यहरूमा सहयोग पुर्याउनुहुने व्यक्तित्वहरू एवं विभिन्न परीक्षाहरूमा उत्कृष्ठ स्थान हासिल गर्ने विद्यार्थीहरूलाई सम्मान गरिएको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *