कस्तो छ चन्द्रागिरि नगरमा कक्षा ८ को वार्षिक परीक्षाको नजिताको अवस्था ?
थानकोट ।
चन्द्रागिरि नगरपालिकाले शैक्षिक सत्र २०७९/८० मा लिएको कक्षा ८ को परीक्षाको संक्षिप्त प्रतिवेदन अनुसार परीक्षामा सम्मिलित कूल परीक्षार्थीको २७.६ प्रतिशतले बी ग्रेडिङ पाएका छन् ।
नगरको शिक्षा शाखाले थानकोट टाइम्सलाई उपलब्ध गराएको सो परीक्षाको संक्षिप्त प्रतिवेदनका अनुसार कूल २ हजार १ सय ३४ जना परीक्षार्थीले यसपटक कक्षा ८ को जिल्लास्तरीय परीक्षामा सहभागिता जनाएका थिए तर उनीहरू सबैले ‘होम सेन्टर’ मा परीक्षा दिएका थिए ।
प्राप्त विवरणअनुसार २०९ जना परीक्षार्थीले ३.६-४.० जीपीए (ए प्लस) पाएका छन् भने ३७४ जना परीक्षार्थीले ३.२-३.६ जीपीए (ए) प्राप्त गरेको नगरको शिक्षा शाखा प्रमुख कर्ण बहादुर भुवाजीले जानकारी दिनुभयो ।
यसैगरी ५ सय ३ जना परीक्षार्थीले २.८-३.२ जीपिए (बी प्लस), ५ सय ८९ जना परीक्षार्थीले २.४-२.८ जीपीए (बी), ३ सय ६३ जना परीक्षार्थीले २.०-२.४ जीपीए (सी प्लस) प्राप्त गर्दा ३ जना परीक्षार्थीले १.६-२.० जीपीए (सी) पाएका छन् ।
९६ जना परीक्षार्थीको भने कुनै ग्रेडिङ (एनजी) नगरीएको सो प्रतिवेदनमा उल्लेख छ । यस नतिजाको पूरा विवरण केही दिनमा सार्वजनिक हुने बताइएको छ ।