दाेसाे ब्राइट फ्युचर एसइइ फुटसलकाे उपाधि बालबालिका विद्यालयलाई

Thankot Times

थानकोट ।
बालबालिका विद्यालयले दोश्रो ब्राइट फ्युचर कप एसइइ छात्र फुटसल प्रतियोगिताको उपाधि बुधबार जितेको छ ।

नैकापस्थित ब्राइट फ्युचरमा भएको फाइनलमाबालबालिका विद्यालयले प्रिमियरलाई ५–२ गोलअन्तरले पराजित गर्यो ।

बालबालिकाका शिशीर क्षेत्री र रोहन मोक्तानले समान २–२ तथा सुबोध खड्काले १ गोल गरे। प्रिमियरका सारंश पुरी र प्रतीक घतानीले समान १–१ गोल फर्काए । उपाधिसँगै बालबालिकाले ३० हजार नगद पुरस्कारसहित टिमका प्रत्येक सदस्यले ब्राइट फ्युचरमा प्लस टु अध्ययनका लागि शतप्रतिशत छात्रवृत्ति प्राप्त गरे ।

विजेता बालबालिकाको टोलीलाई प्रोत्साहन स्वरुप चन्द्रागिरीस्थित फरेस्ट क्याम्प रिसोर्टले रात्री भोज आयोजना गर्ने भएको छ । प्रिमियरले २० हजार नगद पुरस्कारसहित प्लस टु अध्ययनका लागि ७५ प्रतिशत छात्रवृत्ति पाए ।ब्राइट फ्युचर मावि प्लस टु विभागद्वारा आयोजित प्रतियोगितामा बालबालिकाका रोहन तामाङ उत्कृष्ट खेलाडी घोषित भए ।

बालबालिकाकै युनिक कार्की उत्कृष्ट गोलरक्षक तथा प्रिमियरका सारंश पुरी सर्वाधिक गोलकर्ता बने ।

सारंशले प्रतियोगिताभर ९ गोल गरे ।उत्कृष्टत्रयले जनही ५ हजार नगद पुरस्कारसहित प्लस टु अध्ययनका लागि १०० प्रतिशत छात्रवृत्ति पाए । डिफेन्डिङ्ग च्याम्पियन ग्रिन भिलेज एजुकेसन फाउन्डेसन अनुशासित टिम बन्यो । ग्रिन भिलेजले ५ हजार नगद पुरस्कारसहित टोलीका हरेक सदस्यले प्लस टु अध्ययनका लागि २५ प्रतिशत छात्रवृत्ति प्राप्त गरे ।

विजेतालाई चन्द्रागिरी नगरपालिकाका मेयर घनश्याम गिरी, चन्द्रागिरि नगरपालिका वडा १४ का अध्यक्ष राजभाइ महर्जन, चन्द्रागिरि नगरपालिका वडा १५ का अध्यक्ष घनश्याम लुइटेल, ब्राइट फ्युचरका संस्थापक अध्यक्ष मोहन कार्की, ब्राइट फ्युचरका प्रिन्सिपल दयाराम थापा, ब्राइट फ्युचर मावि प्लस टु विभागका प्रमुख श्यामकृष्ण महर्जनलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।

तीनदिने नकआउट प्रतियोगितामा ३० टिम सहभागी थिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *