मकवानपुरका ८ पालिकाले प्रयोगमा ल्याए स्थानीय पाठ्यपुस्तक
थानकोट ।
नेपालको संविधान र स्थानीय सरकार सञ्चालन ऐनले दिएको अधिकार प्रयोग गरेर मकवानपुरका १० मध्ये आठ पालिकाले स्थानीय पाठ्यपुस्तक प्रयोगमा ल्याएका छन्।
स्थानीय सरकार सञ्चालन ऐन २०७४ मा दफा ११ को ज (४)मा मातृभाषामा शिक्षा दिने विद्यालयको अनुमति, अनुगमन तथा नियमनसम्बन्धी व्यवस्था गरी स्थानीय पाठ्यक्रम कार्यान्वयन गर्न सकिने भएपछि मकवानपुरका पालिकाहरूले आफ्ना विद्यालयहरूमा स्थानीय पाठ्यपुस्तक प्रयोगमा ल्याएका हुन्। स्थानीय पाठ्यपुस्तक प्रयोगमा ल्याउने पालिकाहरूमा बागमती, मकवानपुरगढी, हेटौँडा उपमहानगरपालिका, भीमफेदी, इन्द्रसरोवर, थाहा नगरपालिका, मनहरी र राक्सिराङ गाउँपालिका रहेका छन् नयाँ पत्रिकामा खबर छ।
बाँकी दुईवटा पालिकामध्ये कैलाशले यसै शैक्षिक सत्रबाट प्रयोगमा ल्याउने तयारी गरेको छ भने बकैया गाउँपालिकाले पाठ्क्रम निर्माणको योजना अघि बढेको जनाएको छ। बकैयाका शिक्षा शाखा अधिकृत आइतराम तामाङले पालिकाले स्थानीय पाठ्यपुस्तक प्रयोगमा ल्याउने सोच बनाएको भए पनि योजनाअनुसार काम हुन नसकेको बताए। उनले अर्को शैक्षिक सत्रबाट प्रयोगमा ल्याउने गरी यसै आर्थिक वर्षबाट पाठ्क्रम निर्माणको काम थाल्ने उल्लेख गरे। तामाङले पहिलो चरणमा कक्षा १ देखि कक्षा ५ सम्मको पाठ्यक्रम निर्माण गर्ने बताए।