चन्द्रागिरिका फाेटाेग्राफर संजय महर्जनको डकुमेन्ट्री जापानमा ३ महिनासम्म प्रदर्शनी गरिने

Thankot Times

थानकोट ।
भक्तपुरका कलात्मक सम्पदा, कला, संस्कृति, जिवनशैली समेटेर फोटोग्राफर संजय महर्जनले निर्माण गरेको ‘जर्नी टु भक्तपुर – द होमटाउन अफ नेप्लिज सेरामिक्स’ डकुमेन्ट्री जापानको ताकाहामा शहरको कावारा म्युजियम अफ आर्टमा २०२२ डिसेम्बर १७ देखि २०२३ मार्च १९ तारीखसम्म प्रदर्शनमा राखिएको छ ।
“गो टु ट्राभल – जर्नी अफ द आर्टिष्ट” शिर्षकको प्रदर्शनीमा फोटोग्राफर महर्जनले संकलन गरेका नेपालका विभिन्न कलात्मक इट्टा, टाइल तथा उहाँले खिचेका फोटो र डकुमेन्ट्री हेर्न सकिनेछ । उक्त डकुमेन्ट्रीमा भक्तपुरमा देखिने पुराना शैलीका कलात्मक घर, घरको छानामा प्रयोग गरिएको टाइल, कलात्मक बुट्टे इट्टाहरु तथा भक्तपुरका प्रजापती समुदायले बनाउने माटोका भाडाँकुडा र अन्य सामाग्री सम्बन्धि बिशेष खोज गरि वृत्तचित्रमा उतारेका छ्न् ।

छायांकन, सम्पादन र निर्देशन आफै गरेका महर्जनले यस वृत्तचित्र अझै उपयोगी रहोस् भनी वरिष्ठ आर्किटेक्ट बिजय बासुकला, इट्टा टाइल शिल्पकार तथा व्यवसायी कर्ण अवालसँग थप तथ्यसहित परम्परागत तरिकाले बनाइने विधि र यसलाई भविस्यमा पनि जिवन्त बनाउन के गर्नु पर्छ भन्ने विशेषज्ञहरु को धारणा देखाइएको छ ।
सुन्दरी मिका नामले परिचित नेपाल-जापानबीचको साँस्कृतिक सम्बन्धलाई विम्बका रुपमा उजागर गर्दै आइरहेकी जापनी गायिका ताकागी मिकाको निर्माणमा बनेको यस डकुमेन्ट्री प्रदर्शनीमा आएका दर्शकहरुले धेरै नै मनपराएको र जापानी विध्यार्थीहरुलाई समेत उपयोगी रहेकोले मार्च १९ को विशेष कार्यक्रम पछी कावारा म्युजियममा प्रदर्शनी समापन भए पनि टोकियो, ओसाका, ओकिनावा लगाएत सहरहरुमा पनि प्रदर्शनीमा राखिने बताउनु भयो ।

साथै २०२३ मा हुने यामागाता अन्तरास्ट्रिय डकुमेन्ट्री फिल्म फेस्टिभलको लागि समेत तयारीमा रहेको जानकारी दिनुभयो ।
ज्ञानमाला सांस्कृतिक संगित प्रतिष्ठानका प्रशिक्षक तथा वाद्यवाधक समेत रहेका संजय महर्जनले आफ्नो पहिलो अन्तर्राष्ट्रिय प्रदर्शनी भएकोले एकदमै उत्साहित रहेको बताउनु भयो ।

जापान यात्राको क्रममा महर्जनले फुकुयामा म्युजियम, क्योटो नेपाली रेस्टुरेन्ट र शिगा गेस्ट हाउसमा हुने कन्सर्टमा गायिका सुन्दरी मिका र सुन्दरी ब्यान्डसँग केहि नेवारी, नेपाली तथा जापानी गीत संगित प्रस्तुतिको पनि कार्यक्रम रहनेछ साथै कावारा म्युजियममा हुने यस बर्षको ओरिअन कन्सर्टमा समेत सहभागी हुनेछ । डकुमेन्ट्री, फोटो प्रदर्शनी तथा कन्सर्ट कार्यक्रमलाई जापानको परराष्ट्र मन्त्रालयले २०२२ दक्षिणपश्चिम एशिया आदन प्रदान वार्षिकोत्सवको रूपमा पनि मान्यता दिइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *