मातातीर्थ क्षेत्रका पुराना तस्बिरहरू हेर्न स्थानीयहरूको उल्लेख्य उपस्थिति
थानकोट ।
चन्द्रागिरि नगरपालिका-०८ मातातीर्थमा शुक्रबार सो क्षेत्रका पुराना तस्बिरहरूको प्रदर्शनी सम्पन्न भएको छ।
स्थानीयहरूको बाक्लो उपस्थितिका बीच सम्पन्न सो प्रदर्शनीमा मातातीर्थ क्षेत्र लगायत चन्द्रागिरि नगरपालिका क्षेत्रका १७६ वटा तस्बिरहरू समावेश गरिएका थिए ।
कार्यक्रमका प्रमुख आकर्षण क्यानेडियन नागरिक लियो गाैलेटले ५० वर्ष अघि सन् १९७३ तथा सो पछि मातातीर्थ क्षेत्रमा खिचेका तस्बिरहरूमा स्थानीयहरूले विशेष चासो लिएका थिए ।
मातातीर्थ क्षेत्रका पुराना तस्बिरहरूको प्रदर्शनी कार्यक्रम अवलोकनका लागि चन्द्रागिरि नगरपालिका मेयर घनश्याम गिरी, उपमेयर बसन्ती श्रेष्ठ, प्रवक्ता एवं वडाध्यक्ष कृष्ण प्रसाद खड्गी लगायत अन्य जनप्रतिनिधिहरू, स्थानीय विद्यालयका विद्यार्थी, शिक्षक तथा स्थानीय बासीहरूको उपस्थिति रहेको थियो ।
प्रदर्शनी अवलोकनपछि प्रतिक्रिया दिनुहुँदै बागमती प्रदेश सांसद् यमुनादेवी श्रेष्ठले पुराना तस्बिर एवं चित्रहरूको प्रदर्शनीले नयाँ पिंढीका लागि इतिहास अध्ययनका लागि कोशेढुंगा हुने बताउनुभयो । यसैगरी चन्द्रागिरि नगरपालिकाका मेयर घनश्याम गिरीले यस किसिमका प्रदर्शनी कार्यक्रमले नयाँ पुस्ताका लागि विगतको जानकारी लिने अवसर मिल्ने धारणा राख्नुभयो । मेयर गिरीले यस किसिमका सृजनात्मक कार्यला ई नगरपालिकाले सदैव प्राथमिकतामा राख्ने विचार व्यक्त गर्नुहुँदै तुलनात्मक रूपमा देखाइने तस्बिरहरूले लिने शिक्षा सबै नागरिकहरूका लागि महत्वपूर्ण हुने बताउनुभयो ।
यसैगरी चन्द्रागिरि नगरका प्रवक्ता एवं वडाध्यक्ष कृष्णप्रसाद खड्गीले विदेशी नागरिकहरूले दशकाै अघि आफ्नो क्यामेरामा कैद गरेर राखेका नेपालका पर्यावरण, सांस्कृतिक सम्पदा, सामाजिक रहनसहनका विषयवस्तुका तस्बिरको प्रदर्शनीले पुराना दिनहरूको स्मरण भएको बताउनुभयो ।
पुराना तस्बिरहरूको प्रदर्शनी कार्यक्रम अवलोकनपछि स्थानीय विद्यालयकी विद्यार्थी सबिना काल्तानले यस किसिमका प्रदर्शनी देशका अन्य क्षेत्रमा पनि गर्न सके यसको उपादेयता बढ्ने धारणा राख्नुभयो । यसैगरी चाबहिलबाट प्रदर्शनी हेर्न आउनुभएकी मेरिना श्रेष्ठले सरकारले जग्गाको वर्गीकरण समयमै गरेर भाैतिक संरचना निर्माणको क्षेत्रमा नियमन गरेको भए अहिले उब्जाउयोग्य जमिनहरू कंक्रिटको जंगलमा परिवर्तन नहुने थियो भन्ने विचार व्यक्त गर्नुभयो ।
प्रदर्शनीमा प्रस्तुत भएका १७६ वटा तस्बिर मध्ये ४२ वटा तस्बिर पहिले र अहिले शीर्षकमा समावेश गरिएको कार्यक्रम संयोजक जीवन नेपालले जानकारी दिनुभयो । प्रदर्शनीमा समावेश भएका सबै तस्बिरहरू नेपालका पुराना तस्बिरहरू संकलन गर्ने संस्था फोटो म्युजियम नेपालले उपलब्ध गराएको बताइएको छ।
सो क्रममा ५० वर्ष पहिले मातातीर्थ क्षेत्रमा आउनुभएका क्यानेडियन नागरिक लियो गाैलेटलाई सम्मान गरिएको थियो ।