थाइल्याण्डबाट थानकोट आइपुगेको भिक्षुहरूको टोली ४ सय २५ किमि पैदल यात्रा गरी लुम्बिनी पुग्यो
थानकोट ।
थाई भिक्षु/भिक्षुणीको एक टोली पैदल शान्ति यात्रा गर्दै पोखराबाट कपिलवस्तु पुगेको छ । थाइल्यान्डको १५ जिल्लाका धुताङधारी भिक्षु/भिक्षुणी र उपासक/उपासिका गरी २२ जना र केही नेपाली भिक्षुको टोली १७ दिन लगाएर ४ सय २५ किमि लामो पैदल यात्रा पूरा गरी मंगलबार लुम्बिनी पुगेको हो ।
थाइल्यान्डको पठमथानी जिल्लामा रहेको वाटठेट महाविरो विहारका भिक्षु अचान नाथ (नन्दी) को नेतृत्वमा धुताङधारी भिक्षु/भिक्षुणी र उपासक/उपासिकाले पोखराको नदीपुरबाट बुद्धस्थल तिलौराकोट (प्राचीन कपिलवस्तु) सम्म पैदल शान्ति यात्रा गरेका हुन् ।
फरक हावापानी, छुट्टै परिवेश । कतिपय खाली खुट्टा नै यहाँ आएका छन् । उनीहरू पहाडका खेतका कान्ला, गह्रा, गोरेटो बाटो, पहाडको उकाली/ओराली छिचोल्दै तराईको समथर फाँटसम्म आइपुगेका हुन् । नदीपुरबाट पोखराको ८ किमि पश्चिम दक्षिण पुम्दीभुम्दीको अनदुडाँडामा रहेको विश्व शान्ति स्तूप पुगेर त्यहाँबाट स्याङ्जाको फेदीखोला, वालिङ, बायाटारी, मालुङ्गा हुँदै तानसेन पुगेका थिए । तानसेनबाट तल झरेर रुप्सेको बाटो हुँदै बुद्धको मावली गाउँ रूपन्देहीको देवदहमा पूजाआजा गरी बुद्धको अस्तु धातु राखिएको पश्चिम नवलपरासीको रामग्राम पुगेका थिए । त्यहाँबाट भैरहवा हुँदै लुम्बिनी पुगेर मायादेवी मन्दिरमा पूजाआजा सम्पन्न गरे । लुम्बिनीबाट बुद्धले ज्ञान प्राप्त गरेपछि पहिलो पटक आमाबुबासँग भेटघाट गरेको स्थल निग्रोधारा पुगेर त्यहाँ पूजाआजा गरी सम्राट् अशोकले क्रकुच्छन्द बुद्धको जन्मस्थल गोटिहवा र कनकमुनि बुद्धको जन्मस्थल निग्लिहवामा बनाएको अशोक स्तम्भ पुगेका थिए । कनकमुनि बुद्धको सहर अरौराकोट पुगे । यहाँबाट राजकुमार सिद्धार्थले २९ वर्षको युवा अवस्था बिताएको ठाउँ तिलौराकोट (प्राचीन कपिलवस्तु) पुगेर यात्रा सम्पन्न भएको उनीहरूले बताए ।
फागुन पहिलो दिन बैंककबाट काठमाडौं आएका उनीहरूले बौद्धनाथ, स्वयम्भूनाथ दर्शन गरेका थिए । सो टोली पाटनका विभिन्न चैत्य, कीर्तिपुर हुँदै फाल्गुन ५ गते थानकोटस्थित जितवन विहार हुँदै चित्लाङ पुगेको थियो । त्यहाँबाट सो टोली बसबाट पोखरा पुगेका थियो । ‘भगवान् गौतम बुद्धले ४५ वर्षसम्म हजारौं माइल पैदल हिँडेर शान्तिको धर्मदेशना गर्नु भएको थियो,’ थाइल्यान्डको राचन जिल्लाका भिक्षु अचान अङ्खानले भने, ‘हामी उहाँका अनुयायी पनि त्यसैगरी निस्केका हौं ।’ तीन बुद्धका जन्मस्थल आसपास पैदल यात्रा गर्दै शान्तिको धर्मदेशना गर्न पाउँदा जीवनकै गतिलो पुण्यसञ्चय गरेको उनले बताए इकान्तिपुरमा खबर छ ।
चप्पल पनि नलगाई कतिपय भिक्षुले फरक भूगोलमा यात्रा गर्दा दुःखकष्ट भए पनि यात्राका क्रममा सबै भुलेर धर्मचक्षु पलाएको यात्रामा सहभागी नेपाली भिक्षु सुमंगलोले बताए । ‘यात्रा कठिन भए पनि शान्तिको खोजीमा लागेकाले भिक्षुलाई कुनै समस्या आएन,’ उनले भने ।
दैनिक २० देखि ३० किमि हिँडेर धर्मशाला, विद्यालय र क्याम्पसमा बास बस्दै उनीहरूले शान्ति पैदल यात्रा सम्पन्न गरेका थिए । संसारभर हिंसा बढिरहेका बेला आफूहरूले शान्तिको कामना गर्दै पदयात्रा थालेको उनीहरूले बताए । ‘बुद्ध शिक्षाले अहिंसा र शान्तिको सन्देश दिन्छ,’ नेपाली भिक्षु श्रीवजिर प्रेमले भने, ‘त्यही भएर हामीहरू बुद्धकै मार्ग अनुसरणमा लागेका हौं ।’ विश्वमा बढिरहेको अहंकार र महत्त्वाकांक्षाले द्वन्द्व र अशान्तिलाई प्रश्रय दिइरहेकाले बुद्ध दर्शनबारे सन्देश दिन आफूहरू यात्रामा निस्किएको उनले थपे । उनीहरू ठाउँठाउँमा भिक्षा माग्दै भोजन गर्दै हिँडेका थिए ।
पैदलयात्रामा आफूहरूलाई स्थानीयले राम्रो मैत्री, करुणा र सद्भाव देखाएको उनीहरूले बताए । उनीहरू सबैले आफ्ना लागि खान, बस्न र सुत्न चाहिने समान आफैं लिएर हिँडेका थिए । उनीहरूले ठाउँठाउँमा स्थानीयलाई बुद्ध र शान्ति शिक्षाबारे जानकारी दिएको बताए । धुताङधारी भिक्षु बढी एकान्तबास र वनजंगलमा बसेर ध्यानसाधना र धर्मदेशना गर्छन् । थाई धुताङधारी भिक्षुको यो तेस्रो पैदल यात्रा हो । यसअघि कोरोना महामारीअघि दुई पटक उनीहरूले पैदल यात्रा गरेका थिए । ‘नेपालीले यात्राका क्रममा देखाएको माया र स्नेहले नेपालप्रति निकै श्रद्धा र आस्था बढायो,’ थाई भिक्षु अचानले भने, ‘सायद बुद्धले यही भएर नेपालमा जन्म लिएका रहेछन् ।’