चुनदेवी माविका जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउने इञ्जिनियर गिरीको घोषणा
थानकोट ।
चन्द्रागिरि नगरपालिका-०४ थानकोट चुनदेवीस्थित चुनदेवी माध्यमिक विद्यालयमा अध्ययन एक जना जेहेन्दार विद्यार्थीले उच्च शिक्षा हासिल गर्नका लागि छात्रवृत्ति पाउने भएका छन् ।
शनिबार थानकोटस्थित गलबन फुटबल मैदानमा आयोजित चाैथो संस्करणको थानकोट गोल्डकपको समापन समारोहलाई सम्बोधन गर्नुहुँदै प्रतियोगिताका संयोजक समेत रहनुभएका ईञ्जिनियर भुवन गिरीले स्वर्गीय हजुरआमा माहिली गिरीको सम्झनामा स्वर्गीय माहिली गिरी छात्रवृत्ति कोष स्थापनाको घोषणा गर्नुभएको हो ।
ईञ्जिनियर गिरीले विद्यालयका प्रधानाध्यापक मेगेन्द्र लामालाई सो छात्रवृत्ति प्रदान गर्नका लागि आवश्यक चयनकर्ता टोलीको व्यवस्था गर्न अनुरोध गर्नुभएको छ । छात्रवृत्ति बापत सो विद्यालयबाट माध्यमिक तहको परीक्षा (एसइइ) उत्तीर्ण गर्ने मध्येका एक जना जेहेन्दार विद्यार्थीले २५ हजार रूपैयाँ प्राप्त गर्नेछन् । चन्द्रागिरि नगरपालिकाका मेयर घनश्याम गिरीको अग्रसरतामा ४२ वर्षअघि सो विद्यालय स्थापना भएको थियो ।