मातातीर्थ क्षेत्रमा ५० वर्षअघि खिचिएका तस्बिर देखाउँदै क्यानेडियन नागरिक लियो
थानकोट ।
प्रसिद्ध तीर्थस्थल मातातीर्थ क्षेत्रमा ५० वर्षअघि खिचिएका तस्बिरहरूको प्रदर्शनी कार्यक्रम आयोजना हुने भएको छ ।
चैत्र ३ गते शुक्रबार काठमाडाैंको चन्द्रागिरि नगरपालिका-०८ मातातीर्थस्थित वडा कार्यालय हातामा हुने सो प्रदर्शनीमा मुख्य गरि क्यानेडियन नागरिक लियो गाैलेटले सन् १९७३ ताका चन्द्रागिरि नगरपालिकाका विभिन्न क्षेत्रमा कैद गर्नुभएका तस्बिरहरूको समावेश हुने बताइएको छ ।
लियो पहिलोपटक मातातीर्थ क्षेत्रमा आइपुग्नु भएको ५० वर्ष पुगेको अवसर पारेर उहाँसँगको अन्तर्क्रियात्मक कार्यक्रमसहित एक दिने फोटो प्रदर्शनी कार्यक्रम आयोजनाको तयारी भइरहेको कार्यक्रम संयोजक जीवन नेपालले जानकारी दिनुभयो ।
प्रदर्शनीमा चन्द्रागिरि नगर क्षेत्रका अन्य पुराना चित्र तथा तस्बिरहरूसमेत समावेश हुनेछ । माथवरसिंह थापाका पालामा वि.संं १९०१ सालमा नेपाल भ्रमणमा आएका तत्कालीन पर्सियाका राजकुमार फ्रेडरिक विल्हेम वाल्डेमारले थानकोट क्षेत्रमा कोरेका चित्रहरू पनि प्रदर्शनीमा समावेश गरिने संयोजक नेपालले बताउनुभयो
क्यानेडियन नागरिक लियो संयुक्त राष्ट्रसंघीय मिसनमा कार्यरत रहँदा पहिलोपटक सन् १९७३ मा मातातीर्थमा आउनुभएको थियो ।
प्रदर्शनीमा राखिने १७६ वटा तस्बिर मध्ये ४२ वटा तस्बिर पहिले र अहिले शीर्षकमा समावेश गरिने बताइएको छ।
५ दशक अघि र अहिलेको गाउँघरमा कस्तो परिवर्तन आयो भन्ने विषयको अध्ययनका लागि प्रदर्शनी फलदायी हुने अपेक्षासहित प्रदर्शनी आयोजना गर्न लागिएको चन्द्रागिरि नगरपालिका वडा नं. ८ का अध्यक्ष प्रल्हाद रिजालले बताउनुभयो ।
प्रदर्शनीमा समावेश हुने सबै तस्बिरहरू नेपालका पुराना तस्बिरहरू संकलन गर्ने संस्था फोटो म्युजियम नेपालले उपलब्ध गराएको हो ।