बागमती प्रदेश न्यू डायमण्ड कप यू-१८ महिला भलिबल: आयोजक न्यू डायमण्ड र एभरेस्ट फाइनलमा
थानकोट ।
फागुन ९ गतेबाट शुरु भएको ५ लाख रुपैयाँ पुरस्कार राशीको बागमती प्रदेश न्यू डायमण्ड कप यू-१८ खुल्ला राष्ट्रिय महिला भलिबल च्याम्पियनसिपको फाइनलमा आयोजक न्यू डायमण्ड युथ स्पोर्ट्स क्लब र बुटवलको एभरेस्ट मावि खेल्ने भएका छन् ।
आयोजक न्यू डायमण्डले धादिङ स्पोर्ट्स क्लबलाई तथा एभरेस्टले ब्राइट फ्युचर मावि सलकपुर मोरङलाई पराजित गर्दै उपाधिनजिक पुगेका हुन् ।
प्रतियोगिताको फाइनल आज शनिबार हुनेछ । आज नै प्रतियोगिताको तेस्रो र चौथो स्थानका लागि खेल हुनेछ जहाँ ब्राइट फ्युचर र धादिङबीच प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगितामा दोस्रो हुनेले २ लाख ५० हजार, तेस्रो हुनेले १ लाख र चौथोले ५० हजार रुपैयाँ प्राप्त गर्नेछ ।
व्यक्तिगत विधागततर्फ सर्वाेत्कृष्ट खेलाडीले २५ हजार र ट्रफी र उदियमान खेलाडीले १५ हजार रुपैयाँ र ट्रफी पाउनेछन् । उत्कृष्ट स्पाइकर, सेटर, ब्लकर, सर्भर, डिफेन्डर र प्रशिक्षकले समान १० हजार रुपैयाँ र ट्रफी प्राप्त गर्ने बताइएको छ ।
च्याम्पियनसिपमा ७ टोलीले सहभागिता जनाएका थिए ।
फाइनल खेल दिउँसो १ बजे चन्द्रागिरि नगरपालिका-१३ नैकापस्थित क्लबको निर्माणाधीन कोर्ट सुरू हुनेछ ।