बागमती प्रदेश न्यू डायमण्ड कप यु-१८ खुला महिला भलिबल प्रतियोगिता-२०७९ आजबाट
थानकोट ।
बागमती प्रदेश न्यू डायमण्ड कप यु-१८ खुल्ला राष्ट्रिय महिला भलिबल च्याम्पियनसिपमा ७ टोलीको सहभागिता रहने भएको छ ।
चन्द्रागिरि नगरपालिका-१३ नैकापस्थित स्पोर्टस् क्लबको मैदानमा आजबाट फाल्गुन १३ गतेसम्म प्रतियोगितामा संचालन हुनेछ ।
प्रतियोगिताको दिउँसो १ बजे उद्घाटनको तालिका रहेको क्लबका अध्यक्ष कुमार राईले जानकारी दिनुभयो ।
समूह ‘ए’ मा धादिङ्ग स्पोर्ट्स क्लब (धादिङ्ग), एभरेस्ट मावि बुटवल (रुपन्देही), दुप्चेश्वर गाँउपालिका (नुवाकोट) र नमोबुद्ध नगरपालिका (काभ्रे) रहेको छ । यस्तै समूह ‘बी’ मा आयोजक न्यू डायमण्ड, परोपकार आदर्श मावि (काठमाडौं) र ब्राइट फ्युचर मावि (सलकपुर,मोरङ) रहेका छन् ।
लिग कम नकआउट फर्म्याटमा वेस्ट अफ फाइभको आधारमा खेलाइने प्रतियोगितामा शिर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् ।
न्यू डायमण्ड युथ स्पोर्ट्स क्लबको नवनिर्मित खेल मैदानमा हुने प्रतियोगिताको विजेताले ५ लाख प्राप्त गर्दा उपविजेता २ लाख ५० हजार पाउने छ । यस्तै तेश्रोले १ लाख तथा चौंथो हुने टोलीले सान्त्वना पुरस्कार ५० हजार पाउनेछन् ।
यसैगरी प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले २५ हजार पुरस्कार पाउनेछन् । विधागततर्फ उत्कृष्ट स्पाइकर, उत्कृष्ट सेटर, उत्कृष्ट सर्भर, उत्कृष्ट ब्लकर, उत्कृष्ट डिफेन्डर र उत्कृष्ट प्रशिक्षकले समान १० हजार प्राप्त गर्दा एक जना उदियमान खेलाडीले १५ हजार रूपैयाँ पाउनेछन् ।
उमेर समूहको खेलाडीलाई बलियो बनाउने मुख्य उद्देश्यले आयोजना गर्न लागिएको यस प्रतियोगितालाई नेपाल भलिबल संघको प्राविधिक तथा प्रदेश खेलकुद विकास परिषद् बागमती प्रदेशको आर्थिक सहयोग रहनेछ । चन्द्रागिरि नगरपालिका प्रतियोगिताको संरक्षकका रूपमा रहेको छ ।