चन्द्रागिरिमा प्राविधिक शिक्षालय सञ्चालनार्थ कोरियन समाजसेवीहरू इच्छुक
थानकोट ।
चन्द्रागिरि नगरपालिकामा प्राविधिक शिक्षाको विकास एवं विस्तार गर्न एक अन्तराष्ट्रिय गैर सरकारी संस्थाले चासो देखाएको छ।
मंगलबार नगरप्रमुख घनश्याम गिरी तथा नगरप्रवक्ता एवं चन्द्रागिरि वडा नं. ४ का वडाध्यक्ष कृष्णप्रसाद खड्गीसँग कोरिया वर्ल्ड टिमले नगरक्षेत्रमा सिपमूलक शिक्षा दिने उद्देश्यका सन्दर्भमा प्रारम्भिक छलफल भएको नगरप्रमुख गिरीले जानकारी दिनुभयो ।
२ दशकभन्दा बढि अवधि नेपालमा प्राविधिक शिक्षाको क्षेत्रमा कार्यरत वर्ल्ड टिमका निर्देशक ड्रीम जोमले विकास लागि ऐक्यबद्धता (सोड) नेपालसँगको सहकार्यमा विभिन्न विद्यालयहरूमा प्राविधिक शिक्षा दिइरहेको जानकारी दिनुभयो । जोमले भन्नुभयो हामी कोरियामा जस्तै नेपालमा पनि हाइस्कूल तहको अध्ययन सके लगत्तै विद्यार्थीहरूले आफ्नो दक्षता सीपमूलक कार्यमा लगाउन सकुन भन्ने उद्देश्यले चन्द्रागिरि नगर क्षेत्रमा पनि आफ्नो कार्यक्रम विस्तारका लागि लालायित छाैं ।
चन्द्रागिरि नगरपालिका क्षेत्रमा के कसरी प्राविधिक शिक्षालयको विकास विस्तार गर्न सकिन्छ भन्ने विषयमा सरोकारवाला निकायहरूसँग निकट भविष्यमा नै सामुहिक छलफल गरि निष्कर्षमा पुग्ने सहमति भएको प्रवक्ता खड्गीले जानकारी दिनुभयो ।