राष्ट्रिय महिला भलिबल प्रतियोगिताको फाइनलमा एपीएफ र न्यू डायमण्ड खेल्ने

Thankot Times

थानकोट । 

न्यू डायमण्ड युथ स्पोर्ट्स क्लब छैटौँ केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आइतबार भएको खेलमा विभागीय टिम नेपाल पुलिस क्लबलाई पराजित गर्दै न्यू डायमण्ड फाइनलमा प्रवेश गरेको हो ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भएको खेलमा न्यू डायमण्डले पुलिसलाई ३–१ को सेटमा पराजित गर्दै एक खेलअघि नै फाइनलमा स्थान बनाएको हो । न्यू डायमण्डले पुलिसलाई पराजित गरेसँगै एपीएफ पनि फाइनलमा प्रवेश गरेको छ । अब उपाधिका लागि न्यू डायमण्ड र एपीएफबीच प्रतिस्पर्धा हुने भएको छ ।

पहिलो सेट न्यू डायमण्डले २२–२५ ले गुमाए पनि त्यसपछि उत्कृष्ट पुनरागमन गर्दै जित निकालेको हो । त्यसपछि न्यू डायमण्डले पुलिसलाई २५–१५, २५–२२ र २५–१९ स्कोरमा पराजित गर्दै फाइनलमा स्थान बनाएको हो ।

आइतबारै भएको अर्को खेलमा एपीएफले आर्मीलाई २५–१७, २५–२१ र २५–१५ को सोझो सेटमा हराएर लगातार दोस्रो जित निकालेको थियो । प्रतियोगितामा सोमबार लिग चरणका अन्तिम खेलहरू हुँदैछन् । पहिलो खेलमा एपीएफ र न्यू डायमण्डबीच प्रतिस्पर्धा हुँदैछ । दोस्रो खेलमा पुलिस र आर्मीले प्रतिस्पर्धा गर्दैछन् ।

विजेताले ३ लाख रुपैयाँ पाउँदा उपविजेताले १ लाख ५० हजार र तेस्रो हुने टोलीलाई ७५ हजार रुपैयाँ नगद पुरस्कार पाउनेछन् । सर्वोत्कृष्ट खेलाडीले ५० हजार पाउनेछन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *