काठमाडौं बचत तथा ऋण सहकारी संस्था लिमिटेडको अध्यक्षमा नैकाप निवासी दिपक पनेरू निर्विरोध
थानकोट ।
काठमाडौं बचत तथा ऋण सहकारी संस्था लिमिटेड (कास्कुन) को नयाँ कार्यसमिति निर्विरोध चुनिएको छ ।
अध्यक्षमा दिपक पनेरू दोहोरिएका छन् । १९औं साधारणसभामा अध्यक्ष दिपक पनेरु र नवराज अर्याल दुई पक्ष प्यानल नै बनाएर प्रतिस्पर्धामा उत्रिएकामा मंगलबार भएको सर्वपक्षीय बैठकमा पुरानो प्रक्रियालाई अन्त्य गरी पुनः नयाँ प्रक्रियाबाट निर्वाचन गर्ने सहमति भएको थियो ।
पुरानो प्रक्रियालाई अन्त्य गर्नका लागि सबै उम्मेदवारले मनोनयन फिर्ता गर्ने सहमति भएको थियो । त्यसैका लागि मंगलबार साँझसम्म रहेको उम्मेदवारी फिर्ताको समय एक दिन थपिएको थियो ।
सहकारी बैंकका अध्यक्ष एवं राष्ट्रिय सहकारी महासंघका संचालक केबी उप्रेतीको सक्रियतामा भएको सहमति अनुसार दिपक पनेरु अध्यक्ष र अर्का उम्मेदवार नवराज अर्याल वरिष्ठ उपाध्यक्ष बनेका छन् । यसअघि कास्कुनमा वरिष्ठ उपाध्यक्षको पद थिएन । हाल अर्याल कास्कुनका उपाध्यक्ष हुन् । उनी नेकपा एस निकट छन् ।
पनेरुले नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) को आगामी निर्वाचनमा कुनै पनि पद दाबी नगर्ने शर्तमा कास्कूनको अध्यक्ष दिइएको बताइएको छ । उनी हाल नेफ्स्कूनको कोषाध्यक्ष रहेका छन् ।