बागमती सरकारको आम्दानी घट्दै

थानकोट ।
बागमती प्रदेश सरकारको आम्दानी घट्दो क्रममा रहेको छ ।
देशको अर्थतन्त्रमा आएको मन्दीको असर प्रदेश सरकारको आम्दानीमा समेत देखिएको हो । जसका कारण चालु आर्थिक वर्ष २०७९/२०८० को ६ महिनासम्ममा प्रदेश सरकारले निर्धारण गरेको आम्दानीको लक्ष्य अनुसार प्रगति हासिल गर्न सकेको छैन् ।
प्रदेश सरकारले चालु आर्थिक वर्षका लागि कुल ७० अर्ब ९३ करोड ९२ लाख ९१ हजार रुपैयाँ आम्दानी गर्ने लक्ष्य लिएको थियो । तर, सरकारको आम्दानी सोचे अनुरूप नहुँदा चालू आर्थिक वर्षका लागि निर्धारण गरेको अनुमानित लक्ष्य पुरा नहुने देखिएको हो ।
प्रदेश सरकारले आर्थिक वर्षको अर्धवार्षिक अवधिमा लक्ष्यको तुलनामा २२ दशमलव ७७ प्रतिशत मात्र आम्दानी गरेको छ । प्रदेश सरकारले लिएको कुल आम्दानीको लक्ष्यमध्ये १७ अर्ब १६ करोड ७ लाख ४२ हजार रुपैयाँ मात्र आम्दानी गर्न सफल भएको प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयले जानकारी दिएको छ रातोपाटी अनलाइनमा खबर छ ।