कम धितोमा धेरै ऋण दिएको अभियोगमा बैंकका सिइओसहित चार जना पक्राउ

थानकोट ।
कम धितो राखी बढी ऋण प्रवाह गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ।
इलाका प्रहरी कार्यालय दमकले कामना सेवा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) प्रवीण बस्नेतसहित चार जनालाई पक्राउ गरेको डिएसपी दीलिप गिरीले जानकारी दिए।
उनीसँगै हरेन्द्र दाहाल, चन्द्रबहादुर थापा र वीरेन्द्र सिंह भण्डारीलाई प्रहरीले पक्राउ गरेको हो। हरेन्द्र दाहाल र चन्द्रबहादुर थापा ऋणी हुन्।
डिएसपी गिरीका अनुसार उनीहरूलाई विभिन्न मितिमा पक्राउ गरेको हो।
प्रहरीले जिल्ला अदालत झापाबाट म्याद थप गरी बैंकिङ कसुर मुद्दामा अनुसन्धान गरिरहेको छ।
उनीहरूले बैंकबाट ऋण दिँदा थोरै धितो राखेको र राखेको धितो पनि भए/नभएको नखुलेपछि अनुसन्धान अघि बढेको थियो। ऋणीले जग्गा र उनीहरूले गरेको व्यवसाय नै धितोको रूपमा राखेका थिए।
नेपाल राष्ट्र बैंकबाट केन्द्रीय अनुसन्धान ब्युरोलाई यस सम्बन्धमा अनुसन्धान गर्न पत्र लेखेको थियो। ब्युरोले प्रारम्भिक रूपमा अनुसन्धान गरेर दमक शाखाको घटना भएकाले थप अनुसन्धान गर्न इलाका प्रहरी कार्यालयमा पठाएको थियो।
बैंकका निर्देशक विश्वेश्वर सुवेदीका अनुसार यसरी धितो कम राखेर ऋण प्रवाह गर्दा ४ देखि ५ करोडसम्म घाटा हुन आएको देखिन्छ।
‘बैंकले कर्जा लगानी गर्यो। लगानी गर्दा केही फाइलहरूमा मूल्यांकनभन्दा बढी प्रवाह गरेको देखियो। कर्मचारीले ऋणीसँग मिलेर गलत मूल्यांकन गरेको पायौं,’ उनले भने, ‘सञ्चालक समितिले छानबिन गर्दा पत्ता लागेपछि यी-यी व्यक्तिले हानी नोक्सानी पुर्याएको भनेर किटानी गरेर मुद्दा हालेका हौं।’
अनुसन्धानका लागि प्रहरीले ऋण दिँदा फाइलमा हस्ताक्षर गरेकाहरूलाई पनि बोलाएर सोधपुछ गरिरहेको उनले बताए।
सुरूमा ३१ करोड रुपैयाँ ऋण प्रवाह भएको थियो। जग्गा-व्यवसाय अधिकतम् पैसामा लिलामी गर्दा पनि ऋण नउठ्ने देखिएको हो। त्यसमा ४ देखि ५ करोडसम्म घाटा हुन आउने उनी बताउँछन्।
‘सुरूमा त्यति दिए पनि अहिले ऋण तिरेर १४ करोड मात्र बाँकी छ। समीक्षा गर्दा ४ देखि ५ करोडसम्म घाटा लाग्ने देखिएको छ। कर्मचारीको मिलेमतोबिना यो गर्न सम्भव पनि हुँदैन,’ उनले भने,‘केही कर्मचारीले बदमाशी गर्दा धेरै कर्मचारीले दु:ख पाउने देखियो।’
ऋण लिएर चलाएको व्यवसाय पनि चौपट भएको पनि उनले बताए।
यसरी कम धितोमा ऋण प्रवाह धेरै भएकोबारे बैंकले थाहा पाएको पनि एक वर्ष बढी भइसकेको उनले बताए।
बैंकलाई घाटा भएपछि आन्तरिक रूपमा अनुसन्धान सुरू गरेको थियो।
‘आन्तरिक रूपमा छानबिन गरी हामीले पत्र लेखेपछि प्रहरीले पनि अनुसन्धान गरेको हो,’ उनले भने।
यसमा बैंकका तत्कालीन प्रदेश प्रमुख लगायत अन्य केहीको पनि संलग्नता रहेको उनले बताए।