साना तथा मझौला व्यवसायीको संगठनको अध्यक्षमा दिपक आचार्य, सह-अध्यक्षमा धर्मनन्द श्रेष्ठ

थानकोट ।
दिपक प्रसाद आचार्यको नेतृत्वमा नेपाल साना तथा मझौला व्यवसायी महासंघको तदर्थ समिति गठन भएको छ । नवगठित तदर्थ समितिको सहअध्यक्षमा चन्द्रागिरि नगरपालिका-८ मातातीर्थका धर्मनन्द श्रेष्ठ चयन भएका छन् ।
नवगठित महासंघका ३३ सदस्यीय तदर्थ समितिका सदस्यले मंगलबार सपथ लिएका छन् ।
विभिन्न पेशा व्यवसायमा दशकौँदेखि आवद्ध व्यक्तिहरुको सामूहिक प्रयासबाट संस्थाको तदर्थ समिति गठन गरिएको हो । कूल ग्राहस्थ उत्पादन, रोजगारी, स्वउद्यमशीलताको विकास एवं विस्तार, स्थानीय कच्चा पदार्थको सदुपयोग लगायतमा उल्लेख्य योगदान गरिरहेका साना तथा मझौला व्यवसायलाई राज्यकोतर्फबाट उचित सम्बोधन नभइरहेको वर्तमान अवस्थामा स्थापित संस्थालाई महत्वका साथ हेरिएको छ ।
कार्यक्रममा सांसद राजेन्द्र कुमार केसीले साना तथा मझौला व्यवसाय प्रवर्द्धन गर्न संस्था र गठित समिति निःस्वार्थरुपमा लागि पर्नेमा आफू पूर्ण विश्वस्त रहेको बताए । ‘साना उद्योग नभई ठुला उद्योग बन्न सक्दैन्, त्यसैले हामी सबै तहका मानिसहरु मिलेर देशमा आर्थिक विकास गर्न लाग्नुपर्नेछ’, सांसद केसीले भने ।
कार्यक्रममा नेपालका साना तथा मझौला व्यवसायी महासंघका संरक्षक साथै साना तथा मझौला व्यवसायी महासंघका पूर्व अध्यक्ष जंगबहादुर श्रेष्ठले नेपालमा यस क्षेत्रको धेरै महत्व भएको बताउँदै साना व्यवसायीहरुलाई प्रोत्साहन दिदै अगाडि बढ्नुपर्ने बताए ।
त्यसैगरी तदर्थ समितिका अध्यक्ष दिपक प्रसाद आचार्यले भने-‘अब हामी सबै जना साना तथा मझौला व्यवसायीहरु एकिकृत र ऐक्यबद्ध भई साना तथा मझौला व्यवसायको विकास, विस्तार तथा प्रवर्द्धन गर्न प्रभावकारी रुपमा अगाडि बढ्नुपर्नेछ ।’
महासंघको वरिष्ठ उपाध्यक्ष तिलु घले, प्रथम उपाध्यक्ष प्रा. प्रवलराज पोखरेल, द्वितिय उपाध्यक्ष विष्णु घर्तीमगर, तृतिय उपाध्यक्ष विजय सागर प्रधान, चौथौ उपाध्यक्ष सरिता थापा, महिला समूहकी उपाध्यक्ष मंजिला शर्मा, वस्तुगत उपाध्यक्ष डा. बद्री पौडेल, एसोसिएट्स उपाध्यक्ष डा. खोम खरेल, महासचिव डा. गोपाल प्रसाद तिवारी, सचिव विरेन्द्र ठाकुर, कोषाध्यक्ष विश्व दुवाल चयन भएका छन् ।