पिउने पानीमा ५० रुपैयाँको जारमा ३२ रुपैयाँ र ११ रुपैयाँको बोतलमा ९ रुपैयाँ नाफा

थानकोट ।
अधिक मुनाफा खोज्ने बिचौलियाका कारण बजारमा पाइने सामान्य जार र बोतलको पानी दोब्बर महँगो भएको छ । पानी उद्योगले सप्लायर्सलाई सस्तोमा दिए पनि बिचौलियाले झन्डै तेब्बर कमिसन खाँदा बोतल र जारको पानीमा उपभोक्ता ठगिएका हुन् ।
पानी उद्योगबाट उपभोक्ताले सीधै पानी खरिद गर्न पाउँदैनन् । सरकारी तवरबाट जार र बोतलको पानी बिक्री–वितरण गरिँदैन । निजी कम्पनीको एकाधिकार हुँदा मूल्यमा पनि उनीहरूको मनोमानी छ । हाल उपत्यकामा एक सय ५० वटा पानी उद्योग छन् । यी उद्योगले उपत्यकाभर जार र बोतलको पानी सप्लाई गर्छन् ।
उद्योगले प्रतिजार १८ रुपैयाँका दरले डिपो तथा सप्लायर्सलाई दिन्छन् । सप्लायर्सले पसलेलाई प्रतिजार २५–३० रुपैयाँले दिन्छन् । तर, पसलेले २० रुपैयाँ कमिसन खाएर प्रतिजार ५० रुपैयाँमा बेच्ने गरेका छन् ।
त्यस्तै, उद्योगले प्रतिबोतल ११ रुपैयाँमा दिने पानी उपभोक्तासम्म पुग्दा २० रुपैयाँ पर्छ । पानी उद्योगले १२ वटा बोतलसहितको पानीको कार्टुनलाई एक सय २० रुपैयाँमा बेच्छन् भने बिचौलियाले १५०-१७० भन्दा महँगो मूल्यमा बिक्री गर्दै आइरहेका छन् नयाँ पत्रिकामा खबर छ ।