सुनको मूल्य प्रतितोला एक लाख ५ हजार रुपैयाँ पुग्यो

थानकोट ।
नेपाली बजारमा सुनको मूल्य उकालो लाग्ने क्रम जारी रहेको छ।
सुनको भाउ उकालो लागिरहँदा पछिल्लो ९ महिनायताकै उच्च बिन्दुमा पुगेको छ।
यस अघि २०७८ फागुन २५ गते सुनको मूल्यले ऐतिहासिक रेकर्ड बनाएको थियो। उक्त समयमा सुन प्रतितोला एक लाख पाँच हजार पाँच सय रुपैयाँ पुगेको थियो।
आज सुन प्रतितोला एक लाख ५ हजार रुपैयाँ पुगेको छ। यो मूल्य पछिल्लो रेकर्डभन्दा पाँच सय रुपैयाँले मात्र कम हो।
अघिल्लो कारोबार दिन अर्थात् शुक्रबार तोलामा पाँच सय रुपैयाँ बढेको सुनको मूल्य आज प्रतितोला ११ सय रुपैयाँ बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख पाँच हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख चार हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ।