सात वटै प्रदेशमा ‘चन्द्रागिरि हिल्स’ जस्तै एकीकृत पर्यटकीय गन्तव्यको विकास गर्ने योजना बनाइरहेका छौँ’- चन्द्र ढकाल

Thankot Times

थानकोट । 

ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्र ढकालले नेपालको ७ वटै प्रदेशमा काठमाडौंको चन्द्रागिरि हिल्स जस्तै एकीकृत पर्यटकीय गन्तव्यहरूको विकास गर्ने बताएका छन् । ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाडौंबीच एकीकृत कारोबार शुभारम्भ गर्न सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले यस्तो बताएका हुन् ।

आइएमई ग्रुप अफ कम्पनीजका अध्यक्ष समेत रहेका ढकालले पर्यटनको विकास गर्ने आफ्नो लक्ष्य र उद्देश्य पुरा गर्न सरकारले निजी क्षेत्रलाई प्रोत्साहित गर्नुपर्ने बताएका छन् ।

चन्द्रागिरि हिल्सका संस्थापक सदस्यसमेत रहेका अध्यक्ष ढकालले भने, “सरकारले पर्यटन पूर्वाधारको विकास गर्न खोजिरहेको छ । चन्द्रागिरि जस्तै एकीकृत पर्यटकीय गन्तव्यको विकास गर्न सरकारले खोजिरहेको छ । सरकारको यस लक्ष्यलाई पनि ध्यानमा राख्दै हामीले सात वटै प्रदेशमा त्यस्ता योजनाहरू निर्माण गर्ने र विकास गर्ने योजना बनाइरहेका छौँ ।”

उनले ग्लोबल आइएमई बैंककाे नारा “सबैका लागि बैंक” रहेको स्मरण गराउँदै “सबैका लागि गन्तव्य” हुने गरी चन्द्रागिरि हिल्स जस्तै एकीकृत पर्यटकीय गन्तव्यहरूको विकासमा जोड दिने बताएका हुन् ।

चन्द्रागिरि ऐतिहासिक, प्राकृतिक एंवम् धार्मिक पर्यटनको संगमस्थल बनेको छ । पछिल्लो समय काठमाडौँ उपत्यकामा सबैभन्दा धेरै पर्यटक पुग्ने गन्तव्यसमेत बनेको छ ।

साेमबारदेखि नै ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डाैंबीच एकीकृत कारोबार सुरु भएको छ ।  दुई बैंकबीच मर्जर सम्झौता भएको ७ महिनापछि एकीकृत कारोबार शुभारम्भ गरेको हो ।

सोमबार काठमाडाैंस्थित हाेटल याक एण्ड यत्तिमा एक भव्य कार्यक्रमको आयोजना गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को समुपस्थितता  एकीकृत कारोबारको शुभारम्भ गरेका हुन् ।

एकीकृत कारोबार भएपछि ग्लोबल आईएमई बैंक मुलुककै ठुलो बैंक बनेको छ ।

बैंकको कुल सम्पत्ति ५ खर्ब ५ अर्ब, कुल पुँजी ५७ अर्ब, कुल निक्षेप ४ खर्ब १२ अर्ब, कुल कर्जा लगानी ३ खर्ब ७७ अर्ब, ग्राहक सङ्ख्या ४० लाखसहित देशको सबैभन्दा ठुलो बैंक बनेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *