प्राथमिक अस्पताल थानकोटमा रेविजको खोप निःशुल्क उपलब्ध हुने
थानकोट ।
चन्द्रागिरि नगरपालिकाले नगरबासीहरूमा रेविज विरूद्धको खोप निःशुल्क रूपमा उपलब्ध गराउन थालेको छ ।
बिहीबार नगरप्रमुख घनश्याम गिरीले प्राथमिक अस्पताल थानकोटमा रेविज विरूद्धको खोप सुरू भएको घोषणा गर्नुभयो । सो क्रममा नगरप्रमुख गिरीले नगरपालिकाले नगरबासीहरूले रेविज रोग विरूद्धको खोप महंगो मूल्यमा खरिद गर्नुपर्ने बाध्यता अन्त्य भएको धारणा राख्नुहुँदै रेविज विरूद्धको खोप लगाउनकै लागि अब टेकु अस्पतालसम्म पुग्नुपर्ने बाध्यता हटेको बताउनुभयो ।
प्राथमिक अस्पताल थानकोटका प्रमुख डा. हेमनाथ आचार्यले सेवाग्राहीहरूले जुनसुकै समयमा पनि रेविज रोग विरूद्धको खोप सेवा लिन सक्ने बताउनुहुँदै कुकुर, स्याल, बिरालो, चमेरो लगायतका पशुले टोकेमा तुरून्तै रेविज विरूद्धको खोप लगाउनुपर्ने बताउनुभयो । सङ्क्रमित कुकुर तथा जनावरले मानिसलाई टोक्दा लाग्ने रेबिज रोगलाई खोपका माध्यमबाट रोकथाम गर्न सकिने उहाँको भनाई छ।
नेपालमा वार्षिक करिब १०० जनासम्मले रेबिजका कारण ज्यान गुमाउने गरेको सरकारी विवरण छ। रेबिज सङ्क्रमण भएका जनावरले मानिसलाई टोकेमा त्यस्ता जनावरको र्यालबाट रोग सर्न सक्ने चिकित्सकहरू बताउँछन्। नेपालमा ९९ प्रतिशत रेबिजका घटना परपालुवा जनावर कुकुरको टोकाइका कारण हुने गरेको बताइन्छ ।