चन्द्रागिरि नगरबासीहरुको लागि नि:शुल्क रक्तसञ्चार सेवा
थानकोट ।
चन्द्रागिरि नगरपालिकाका नागरिकहरूले निःशुल्क रक्तसञ्चार सेवा पाउने भएका छन् ।
आगामी माघ १ गतेबाट लागु हुने गरि चन्द्रागिरि नगरपालिकाका स्थानीयहरूले नेपाल रेडक्रस सोसाइटीबाट निःशुल्क रक्तसञ्चार सेवा पाउने भएका हुन् ।
अस्पताल भर्ना भएका चन्द्रागिरि नगरबासीहरूले नगरको स्थायी बसोबास गरिरहेको प्रमाण र बिरामी भएको पूर्जी देखाएर केन्द्रीय रक्तसञ्चार कार्यालय कालिमाटीबाट आवश्यक रगत प्राप्त गर्न सक्नेछन् । हालका लागि सो सुविधा २०८० असारमसान्तसम्म उपलब्ध हुने बताइएको छ ।
निःशुल्क रगत उपलब्ध गराउने सम्झाैता पत्र आदान प्रदानका कार्यक्रममा बोल्नुहुँदै नेपाल रेडक्रस सोसाइटीका प्रमुख कार्यकारी अधिकृत उमेश ढकालले सुलभ दरमा गुणस्तरीय रगत मर्यादित रूपमा बिरामीहरूका लागि उपलब्ध गराउन रेडक्रस सदैव लागिरहेको बताउनुहुँदै स्थानीय निकायहरूले रक्तदान कार्यमा संलग्न हुन आफ्ना नागरिकहरूलाई सदैव उत्प्रेरित गराउनुपर्ने बताउनुभयो । सो क्रममा प्रमुख कार्यकारी अधिकृत ढकालले काठमाण्डाैका कीर्तिपुर, टोखा र तारकेश्वर नगरपालिकाले नागरबासीहरूका लागि निःशुल्क रक्तसञ्चार सेवा उपलब्ध गराउन सम्झाैता गरिसकेको जानकारी दिनुभयो ।
कार्यक्रममा बोल्नुहुँदै चन्द्रागिरि नगरपालिकाका नगरप्रमुख घनश्याम गिरीले नगरबासीहरूलाई सक्रियतापूर्वक रक्तदान कार्यमा लाग्न नगरका सबै वडाहरूमा अभियानकै रूपमा रक्तदान कार्यलाई सञ्चालन गरिने बताउनु हुँदै नगरपालिका क्षेत्रमा कुनै पनि संघ संस्थाले रक्तदान कार्यक्रम आयोजना गर्दा प्रति रक्तदाता २ सय रूपैयाँ उपलब्ध गराउने बताउनुभयो । सो क्रममा नगरप्रमुख गिरीले नगरबासीहरूका लागि नगरले विभिन्न रोगका औषधीहरू निःशुल्क वितरण गरिरहेको जानकारी दिनुहुँदै निकट भविष्यमा नै नगरमा डायलासिस सेवा सुरू हुने जानकारी दिनुभयो ।