निवृत्त स्वास्थ्य स्वयंसेविकाहरूलाई चन्द्रागिरि नगरको १ लाख रूपैयाँसहितको सम्मान
थानकोट ।
१९औँ महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवसका अवसरमा चन्द्रागिरि नगरपालिकाले ६० वर्ष उमेर पूरा गरेका २१ जना स्वयंसेविकाहरूलाई प्रोत्साहन रकमसहित बिदाई गरेको छ ।
शुक्रबार चन्द्रागिरि नगरपालिकामा आयोजित एक कार्यक्रमकाबीच नवनिर्वाचित संघीय सांसद् राजेन्द्रकुमार केसी, बागमती प्रदेश सभा सदस्य रमा आलेमागर, केशव पोखरेल, नगरप्रमुख घनश्याम गिरी, उपमेयर बसन्ती श्रेष्ठ लगायतको उपस्थितिमा नगरपालिकाका विभिन्न वडाहरूमा सेवारत ६० वर्ष उमेर पूरा गरेका स्वयंसेविकाहरूको सम्मान गरिएको हो ।
सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरूको सम्मान कार्यक्रममा बोल्नुहुँदै संघीय सांसद् राजेन्द्र कुमार केसीले मुलुकभर सेवारत ५२ हजार सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरूले स्वास्थ्य क्षेत्रमा पुर्याइएको योगदानको सदैव कदर हुने बताउनुभयो । सो क्रममा सांसद् केसीले नेपालमा मातृ मृत्युदर र बाल मृत्युदर घटाउन सामुदायिक स्वास्थ्य स्वयंसेविकाले खेलेको भूमिकाको अन्तराष्ट्रिय स्तरमा समेत प्रशंसा भइरहेको बताउनु हुँदै सामुदायिक स्वास्थ्य स्वयंसेविकाको दिइरहेको मर्यादित सेवामा संघ, प्रदेश र स्थानीय सरकारले सानै भएपनि आर्थिक सहायता उपलब्ध गराइरहेको धारणा राख्नुभयो ।
त्यस्तै, प्रदेश सभा सदस्य केशव पोखरेलले सामुदायिक स्वास्थ्य स्वयंसेविकाको क्षेत्र, सहकारीको क्षेत्र तथा सामुदायिक वनको क्षेत्रमा महिलाहरूको उपस्थितिको कारण यी तीन विषयले नेपालमा महत्वपूर्ण सफलता हासिल गरेको बताउनुहुँदै सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरूको सेवा सुविधा थप गर्नका लागि आवश्यक पहल गर्ने आश्वासन दिनुभयो ।
त्यस्तै, चन्द्रागिरि नगरपालिका सामाजिक विकास शाखा संयोजक एवं चन्द्रागिरि नगरपालिका १५ का वडाध्यक्ष घनश्याम लुँइटेलले सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरूले प्रविधिको सामान्य ज्ञान हासिल गर्न सके उनीहरूले खेल्ने भूमिका निभाउने क्रममा थप प्रभावकारिता ल्याउन सकिने विश्वास व्यक्त गर्नुभयो । सो क्रममा वडाध्यक्ष लुँइटेलले सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरूको भूमिका थप प्रभावकारी बनाउनका लागि नीतिगत रूपमा नगरपालिकाले सुरूवात गरिसकेको जानकारी दिनुभयो ।
सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवसका अवसरमा आयोजित कार्यक्रममा आफ्नो धारणा राख्नुहुँदै नगरप्रमुख घनश्याम गिरीले सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरूले समाजमा पुर्याएको योगदानको तुलना रूपैयाँमा हुन नसक्ने बताउनुहुँदै नगरले प्रोत्साहन बापत नगद १ लाख रूपैयाँले सम्मान गरिएको बताउनुभयो । सो क्रममा नगरप्रमुख गिरीले सामुदायिक स्वास्थ्य स्वयंसेविकाले हिजो निभाएको कर्तव्य भोलिका दिनमा पनि निभाउनुहुनेछ भन्ने विश्वास लिएको बताउनुभयो ।
नगरप्रमुख गिरीले नगरमा शुन्य फोहोर अभियानका लागि वडागत रूपमा अभियान सुरू हुन लागेको बताउनुहुँदै फोहोर व्यवस्थापनका लागि फोहोर वर्गीकरणका लागि महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरूले पनि महत्वपूर्ण भूमिका खेल्नुपर्ने धारणा राख्नुभयो । नगरप्रमुख गिरीले देशका अन्य स्थानीय तहमा सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरूले ६० वर्षको उमेर हद पार गरेपछि निवृत्त हुँदा संघ सरकारले २० हजार रूपैयाँ उपलब्ध गराउँदै आएको बताउनुहुँदै चन्द्रागिरि नगरले यसअघि ५० हजार रूपैयाँ उपलब्ध गराएकोमा हाल १ लाख रूपैयाँ दिने निर्णय भएबमोजिम सो रकम उपलब्ध गराएको जानकारी दिनुभयो । उहाँले यो रकममा समयानुकल वृद्धि गर्नका लागि पहल हुने बताउनुभयो ।
चन्द्रागिरि नगरपालिकाका १५ वटा वडाहरूमा १४९ जना महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरू सेवारत छन् । महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका हरेक वर्ष डिसेम्बर ५ का दिन मनाउने गरिएपनि चन्द्रागिरि नगरमा सो दिन सात गाउँले जात्रा परेका कारण शुक्रबार सो दिवस मनाउन कार्यक्रम आयोजना गरिएको हो ।