कतार विश्वकपमा पहिलो ह्याट्रिक

थानकोट ।
पोर्चुगलका गोन्सालो रामोस जारी विश्वकप फुटबलमा ह्याट्रिक गोल गर्ने पहिलो खेलाडी बनेका छन् । रामोसको ह्याट्रिकमा स्वीजरल्याण्डविरूद्ध सहज जित निकाल्दै पोर्चुगल कतार विश्वकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
मंगलबार राति भएको खेलमा स्वीजरल्यान्डमाथि ६-१ गोल अन्तरको जित निकाल्दै पोर्चुगल क्वाटरफाइनलमा प्रवेश गरेको हो । लुसेइल स्टेडियममा पोर्चुगललाई जित दिलाउन रामोसले ह्याट्रिक पूरा गर्दा पेपे, राफेल गुरेइरो र राफेल लाओले समान एक-एक गोल गरे ।
रामोसले खेलको १७औं मिनेटमा गोल गर्दै पोर्चुगललाई अग्रता दिलाएका थिए । खेलको ३३ औं मिनेटमा पेपेले गोल गर्दै पोर्चुगलको अग्रता दोब्बर बनाए ।
आजको गोलसँगै पेपे विश्वकप फुटबलको नकआउट चरणमा गोल गर्ने धेरै उमेरका खेलाडी बनेका हुन् । उनले ३९ वर्ष २८३ दिनमा गोल गरे ।
खेलको ५१औं मिनेटमा रामोसले व्यक्तिग दोस्रो गोल गर्दै पोर्चुगललाई ३-० गोलको अग्रता दिलाए । खेलको ५५औं मिनेटमा गुरेइरोले गोल गर्दै पोर्चुगलको अग्रता ४-० बनाए । स्वीजरल्यान्डका लागि मानुयल अकाङ्जीले गोल गर्दै टिमलाई ४-१ गोलको अवस्थामा ल्याए ।
खेलको ६७औं मिनेटमा रामोसले ह्याट्रिक पूरा गर्दै टिमलाई ५-१ गोलको अग्रता दिलाए । खेलको इन्जुरी समयमा लाओले गोल गर्दै पोर्चुगललाई ६-१ गोल अन्तरको जित दिलाए । पोर्चुगलले अब क्वाटरफाइनलमा मोरक्कोको सामना गर्नेछ ।
मंगलबार नै सम्पन्न प्रिक्वाटर फाइनल खेलमा स्पेनमाथि पेनाल्टी सुट आउटमा जित निकाल्दै मोरक्कोले पनि अन्तिम ८ मा स्थान सुरक्षित गर्यो ।
एजुकेसन सिटी स्टेडियममा दुई टोलीबीचको खेल निर्धारित समयमा गोलरहित बराबरीमा सकिँदा अतिरिक्त समयमा थपिएको थियो । अतिरिक्त समयमा पनि दुवै टोलीले गोलरहित बराबरी खेल्दा खेल पेनाल्टी सुट आउटमा गएको थियो ।
मोरक्को विश्वकप फुटबलको अन्तिम ८ मा प्रवेश गरेको यो पहिलो अवसर हो ।