थानकोटका पुराना शिक्षक एवं समाजसेवी पुरञ्जन श्रेष्ठको निधन
थानकोट ।
मंगलोदय माविका पूर्व शिक्षक तथा समाजसेवी पुरञ्जन श्रेष्ठको निधन भएको छ ।
६६ वर्षीय श्रेष्ठको मंगलबार निधन भएको मंगलोदय माविका प्रधानाध्यापक कविन्द्र गोपालीले जानकारी दिनुभयो । श्रेष्ठ थानकोट क्षेत्रमा रूचाइएका समाजसेवीको रूपमा परिचित हुनुहुन्थ्यो । उहाँकै अगुवाइमा चन्द्रागिरि नगरपालिका ३ र ४ मा विभिन्न धार्मिक भाैतिक संरचनाहरू निर्माण गरिएका थिए ।
श्रेष्ठको निमोनियाका कारण निधन भएको पारिवारिक श्रोतले जानकारी दियो । उहाँका १ पत्नी १ छोरा र ३ छोरीहरू रहेका छन् ।
चन्द्रागिरि नगरका मेयर घनश्याम गिरी, चन्द्रागिरि ४ का वडाध्यक्ष एवं नगरप्रवक्ता कृष्णप्रसाद खड्गी, चन्द्रागिरि ३ का वडाध्यक्ष दुर्गालाल महर्जन, चन्द्रागिरि १५ का अध्यक्ष घनश्याम लुँइटेल लगायतको उपस्थितिमा मृतक श्रेष्ठको मंगलबार नै अन्तिम संस्कार भएको छ । उहाँ संगित साधनाको क्षेत्रमा पनि परिचित हुनुहुन्थ्यो ।