चन्द्रागिरिका यमुनादेवी श्रेष्ठ र विन्दु श्रेष्ठ बागमती प्रदेशको समानुपातिकबाट सांसद् चयन
थानकोट ।
बागमती प्रदेश सभामा समानुपातिक तर्फका सांसद्हरूको टुंगो लागेको छ ।
बागमती प्रदेश सभाको प्रत्यक्षतर्फ ६६ तथा समानुपातिक तर्फ ४४ जना सांसद् रहने व्यवस्था रहेको छ । जसअनुसार नेपाली काँग्रेसबाट २५ जना प्रत्यक्षमा चुनिएका छन् भने समानुपातिक मत अनुसार १२ जना उम्मेदवारहरू समानुपातिकबाट बागमती प्रदेश सांसद्को रूपमा संसद् छिर्न पाउने भएका छन् ।
नेपाली काँग्रेसबाट १० जना महिला समानुपातिक तर्फ सांसद् बन्न सफल भएका छन् । जस अनुसार चन्द्रागिरि नगरपालिका सतुंगलकी यमुनादेवी श्रेष्ठ सांसद् बन्नुभएको छ । त्यस्तै नेकपा एमालेले प्रत्यक्षमा १३ तथा समानुपातिकमा १४ जना सांसद् पाएको छ । जसअनुसार चन्द्रागिरि नगरपालिका थानकोट निवासी विन्दु श्रेष्ठ पनि प्रदेश सांसद् बन्नुभएको छ ।
त्यस्तै नेकपा माओवादीबाट प्रत्यक्षमा १४ तथा समानुपातिकमा ७ जना सांसद्ले बागमती प्रदेश सभा सदस्यमा स्थान बनाउँदा राप्रपाले प्रत्यक्षमा ७ तथा समानुपातिकमा पनि ७ जना सांसद् पाएको छ ।
एकीकृत समाजवादीबाट प्रत्यक्षमा ५ र समानुपातिकमा २ जना सांसद्ले बागमती प्रदेश सभामा प्रतिनिधित्व गर्दा नेमकिपाबाट प्रत्यक्ष र समानुपातिकमा १-१ जनाले प्रतिनिधित्व गर्नेछन् । हाम्रो नेपाली पार्टीबाट पनि प्रत्यक्षमा १ र समानुपातिमा १ जना सांसद् बागमती प्रदेश सभाका लागि चुनिएका छन् ।
तस्बिरः प्रकाश गोपाली