सुदूरपश्चिमले जित्यो यू-१९ क्रिकेटको उपाधि

थानकोट।
लुम्बिनी प्रदेशमाथि ६ विकेटको जित निकाल्दै सुदूरपश्चिम प्रदेशले वाई वाई यू-१९ पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सोमबार सम्पन्न फाइनल खेलमा सुदूरपश्चिम प्रदेश अन्तिम खेलसम्म अपराजित रहँदै च्याम्पियन भएको हो ।
च्याम्पियन बन्ने क्रममा मिलन बोहराको उत्कृष्ट बलिङ रह्यो ।
लुम्बिनीले प्रस्तुत गरेको ९३ रनको लक्ष्य सुदूरपश्चिम प्रदेशले २१ ओभरमा चार विकेट गुमाउँदै भेट्टायो । सुदूरपश्चिमका लागि गजेन्द्र बोहराले अविजित ३९, दीपक बोहराले २५ र कप्तान अनुराग सिंहले २२ रन जोडे । लुम्बिनीका लागि रमेश कुर्मीले दुई तथा निर्मल गुरुङ र अभिषेक गौतमले समान एकएक विकेट लिए । यसअघि टस जितेर ब्याटिङ रोजेको लुम्बिनी प्रदेश २९.१ ओभरमा सबै विकेट गुमाएर ९२ रनमा सीमित भएको थियो ।
लुम्बिनीका लागि आकाश त्रिपाठीले सर्वाधिक ३८ र नर सार्कीले ११ रन जोड्दा अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् । सुदूरपश्चिमका लागि मिलनले पाँच, हेमन्त धामी र नरेन साउदले समान दुईदुई तथा आकाश चन्दले एक विकेट लिए ।
यस संस्करणको समूह चरणको भेटमा लुम्बिनी सुदूपश्चिमसँग १ सय रनले पराजित भएको थियो । सँगै सुदूरपश्चिमले लुम्बिनीसँग अघिल्लो संस्करणमा फाइनल खेलमा हारेको बदलासमेत लिएको छ ।
प्रतियोगितामा प्रदेश १, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशसहित ७ प्रदेशको सहभागिता रहेको थियो । उपाधिसँगै सुदूरपश्चिमले दुई लाख रुपैयाँ प्राप्त गरेको छ ।
यस्तै उपविजेता लुम्बिनीले एक लाख रुपैयाँ प्राप्त गर्यो ।