१२ रोपनी क्षेत्रफलमा थानकोटमा बन्यो अत्याधुनिक व्यवसायिक गोदाम

थानकोट ।
काठमाडौं वेयरहाउस एण्ड डिस्ट्रिब्युशन सेन्टर (केडब्ल्यूडीसी) ले चन्द्रागिरि नगरपालिका-३ थानकोटमा अत्याधुनिक व्यवसायिक गोदाम सञ्चालनमा ल्याएको छ ।
गोदाम सञ्चालनमा ल्याएसँगै केडब्ल्यूडीसीले नेपाल फ्रेट फरवार्डर्स एसोसिएसन र कुरियर एजेन्ट्स एसोसिएसन अफ नेपालसँग ती संस्थाका सदस्यहरुलाई वेयरहाउजिङ, वितरण तथा व्यवसायिक सहायक सेवाहरु प्रवाह गर्नका लागि समझदारी गरेको छ ।
नेपालको वेयर हाउजिङमा नयाँ युग ल्याउने अपेक्षा गरिएको यो समझदारीसँगै ती संस्थाका सदस्य कम्पनीहरुले तोकिएको न्यून दरमा गोदाम, वितरण तथा अन्य सेवाहरु उपयोग गर्न सक्ने कम्पनीले जनाएकाे छ ।
‘काठमाडौंमा व्यावसायिक तथा व्यवस्थित गोदाम एंवम् मालवाहक ट्रक र ट्रेलरहरूको लागि सजिलो पहुँच भएको वितरण केन्द्रको ठूलो अभाव छ । साथै, त्यस्ता सवारी साधनलाई दिनको समयमा शहरमा “प्रवेश निषेत्र” को समस्या छ भने र रातमा ट्रक र ट्रेलरहरू शहर प्रवेश गर्न त पाउँछन् तर सामान लोड तथा अनलोड गर्नका लागि श्रमिक तथा क्रेन पाउन समस्या पर्ने गरेको छ । यी गाडीहरूको लागि कतै पनि “पार्किङ जोन” छुट्याइएको छैन् । यस्ता समस्याहरुका कारण ट्रकहरूले सहर प्रवेश गर्दा ट्राफिकबाट सास्ती खेप्नुपरेको छ भने र काठमाडौं प्रवेश गर्न र बाहिर निस्कन एकदिन खेर गइरहेको छ ।’ सम्झौता पत्रमा उल्लेख छ ।
चन्द्रागिरि नगरपालिका-३ स्थित आयल निगम डिपोनजिकै १२ रोपनी जग्गामा फैलिएको यो सेन्टरले दक्ष कर्मचारीहरूबाट श्रम सेवा, फोर्कलिफ्ट र क्रेन सुविधा, प्यालेटाइजेशन सेवा, हप्ताको सातै दिन चौबिसै घण्टा सुरक्षा, रिसिभिङ, अनलोडिङ, लोडिङ, भण्डारण, प्रेषण, गोदामदेखि-गेटसम्म ढुवानी सेवा प्रदान गर्नेछ ।