सस्तियो ब्रोइलर कुखुराको मासु, केजीमा ५० रूपैयाँ घट्यो

थानकोट ।
नेपाली बजारमा अन्य खाद्यवस्तुको भाउ बढिरहँदा ब्रोइलर कुखुरा मासुको भाउ भने केही सातादेखि निरन्तर घटेको छ ।
भारतबाट सस्तोमा कुखुरा भित्रिन थालेपछि यहाँ मूल्य घट्न थालेको व्यवसायी बताउँछन् । राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघका अनुसार करिब दुई महिनाको अवधिमा ब्रोइलर कुखुरा मासुको होलसेल मूल्य प्रतिकिलो ५० रुपैयाँ सस्तो भएको छ ।
‘कुखुराको उत्पादन बढेर मूल्य घटेको होइन,’ संघका सचिव देवकुमार गिरीले भने, ‘मूल्य घट्नुको एक मात्रै कारण भारतबाट सस्तोमा आयात भएर हो ।’ असोज २२ गते प्रतिकिलो २ सय ७० रुपैयाँ रहेको जिउँदो ब्रोइलर कुखुराको कोल्डस्टोर मूल्य असोज ३१ मा प्रतिकिलो २ सय ६० रुपैयाँ तोकियो ।
मंसिर १४ गते प्रतिकिलो २ सय २० रुपैयाँ तोकिएको संघले जनाएको छ ।