नेपाल एयरलाइन्सका विमान अब सिधै दोहा र क्वालालम्पुरबाट गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा

थानकोट।
राष्ट्रिय ध्वजावाहक विमान सेवा कम्पनी नेपाल एयरलाइन्सले पुस ४ (डिसेम्बर १९) देखि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गर्ने भएको छ।
नागरिक उड्डयन प्राधिकरणका अनुसार नेपाल एयरलाइन्स (नेपाल वायुसेवा निगमले) ले एकै दिन दुई अन्तर्राष्ट्रिय गन्तव्यमा उडान गर्नेछ। एयरलाइन्सले कतारको दोहा र मलेसियाको क्वालालम्पुरबाट भैरहवामा सिधा उडान गर्ने प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले जानकारी दिए।
यसका लागि नेपाल एयरलाइन्सले गत साता उडान अनुमति मागेको थियो। एयरलाइन्सकै मागअनुसार प्राधिकरणले ‘विन्टर सेड्युल’ स्वीकृत गरेको हो।
प्राधिकरणबाट स्वीकृत तालिकाअनुसार नेपाल एयरलाइन्सको एउटा जहाजले काठमाडौं–दोहा–भैरहवा–काठमाडौं रूटमा उडान गर्नेछ। त्यस्तै अर्को जहाजले काठमाडौं–क्वालालम्पुर–भैरहवा–काठमाडौं रूटमा उडान गर्नेछ।
सूचना अधिकारी भुलका अनुसार दोहाबाट भैरहवामा आइतबार र मंगलबार गरी साताको दुइटा उडान हुने छन्। त्यस्तै क्वालालम्पुरबाट भैरहवामा हरेक बुधबार (सातामा एक) उडान एउटा हुनेछ। प्राधिकरणले सन् २०२२ डिसेम्बर १९ बाट सन् २०२३ मार्च २५ सम्मका लागि यो तालिका स्वीकृत गरेको हो सेतोपाटी अनलाइनमा खबर छ।
यसअघि प्राधिकरणले भैरहवाबाट उडान नगरेको भन्दै ३० अक्टोबरबाट लागू हुने गरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भइरहेको नेपाल एयरलाइन्सको उडान कटौती गरेको थियो।