इंग्ल्याण्ड, अमेरिका, नेदरल्यान्डस् र सेनेगल विश्वकप फुटबलको अन्तिम १६ मा

Thankot Times

थानकोट । इंग्ल्यान्ड फिफा विश्वकप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ।

गएराति सम्पन्न खेलमा वेल्सलाई ३-० गोल अन्तरले हराउँदै इंग्ल्यान्ड राउण्ड अफ १६ मा प्रवेश गरेको हो। इंग्ल्यान्डलाई जित दिलाउन मार्कुस राषफोर्डले दुई गोल गरे। फिल फोडेनले एक गोल गरे।

राषफोर्डले खेलको ५० औं मिनेटमा गोल गर्दै इंग्ल्यान्डलाई सुरुवाती अग्रता दिलाएका थिए। ५२ औं मिनेटमा फोडेनले गोल गर्दै इंग्ल्यान्डलाई २-० को अग्रता दिलाए।

त्यसपछि खेलको ६८ औं मिनेटमा राषफोर्डले व्यक्तिगत दोस्रो गोल गर्दै इंग्ल्यान्डलाई ३(० को जित दिलाए। जितसँगै इंग्ल्यान्ड समूह (बी)को विजेता बनेको छ। वेल्स र इरान भने प्रतियोगिताबाट बाहिरिएका छन्।

यस्तै अमेरिका पनि नकआउट चरणमा प्रवेश गरेको छ। गएराति नै भएको खेखमा इरानलाई १-० गोल अन्तरले हराउँदै अमेरिका राउण्ड अफ १६ मा प्रवेश गरेको हो। अमेरिकाको जितमा क्रिस्टियन पुलिसिचले निर्णायक गोल गरे। उनले खेलको ३८ औं मिनेटमा गोल गरेका थिए।

जितसँगै अमेरिका समूह (बी)को उपविजेता बन्दै नकआउट चरणमा पुगेको हो। अमेरिकाले ३ खेलमा ५ अंक जोड्यो। इरान ३ अंक जोडेर तेस्रो स्थानमा रहदै प्रतियोगिताबाट बाहिरिएको छ।

कोडी गाप्कोले गोललयलाई लगातार तेस्रो खेलसम्म निरन्तरता दिँदा नेदरल्यान्ड्सले मंगलबार आयोजक कतारमाथि २–० को जितसहित समूह ‘ए’ को विजेताका रूपमा विश्वकप २०२२ को अन्तिम १६ मा स्थान बनाएको छ।

समूहचरणको पहिलो खेलमा सेनेगललाई हराएको नेदरल्यान्ड्सले दोस्रो खेलमा इक्वेडरसँग बराबरी खेल्दै अंक बाँडेको थियो। त्यसैले नेदरल्यान्ड्सका लागि कतारविरुद्ध अंक बराबरी गरे मात्र पनि समूहचरण पार गर्न पर्याप्त थियो।

समूह ‘ए’ मा ३ खेलबाट ७ अंक बटुलेको नेदरल्यान्ड्सले समूह विजेताका रूपमा नकआउट चरणको टिकट काट्दा समान खेलमा ६ अंक जोडेको सेनेगलले समूह उपविजेताका रूपमा अघिल्लो चरणमा प्रवेश ग¥यो। ४ अंक मात्र जोडेको इक्वेडर भने तेस्रो स्थानमा रह्यो। अंकविहीन कतार यसअघि नै समूहचरणबाटै बाहिरिसकेको थियो।

२६औं मिनेटमा गाप्कोको गोलमा नेदरल्यान्ड्सले अग्रता लिएको थियो। जारी विश्वकपमा उनको यो लगातार तेस्रो गोल हो। उनले समूहचरणको पहिलो खेलमा सेनेगलविरुद्ध १ गोल गरेका थिए भने इक्वेडरविरुद्ध १–१ को बराबरी गरेको खेलमा पनि गोल गरेका थिए। गाप्को इक्वेडरका इनर भ्यालेन्सिया र फ्रान्सका किलियन एम्बाप्पेसँगै ३ गोलसहित शीर्ष गोलकर्ताको सूचीको अग्रस्थानमा छन्। ४९औं मिनेटमा फ्य्रांकी डी योङको गोलमा नेदरल्यान्ड्सले अग्रता दोब्बर पारेका थियो।

यता कतारका लागि पहिलो विश्वकप सहभागिता उल्लेख्य हुन सकेन। पहिलो खेलमा इक्वेडर र दोस्रो खेलमा सेनेगललाई समान २–० को नतिजा सुम्पिएको कतार यसअघि नै प्रतियोगिताबाट बाहिरिसकेको थियो। त्यसैले कतारका लागि नेदरल्यान्ड्सविरुद्धको खेल प्रतिष्ठाको लडाइँ मात्र थियो। यससँगै कतार विश्वकपको समूहचरणमा तीनै खेल हार्ने पहिलो टोलीसमेत बनेको छ।

सन् २०१४ मा तेस्रो स्थान हात पारेको नेदरल्यान्ड्स सन् २०१८ को रूस विश्वकपमा भने छनोट हुन सकेको थिएन। विश्व फुटबलमा अभागी टोलीको उपनाम पाएको नेदरल्यान्ड्स आठ वर्षपछिको विश्वकप पुनरागमन सुखद पार्न चाहन्छ।

समूह ‘ए’ को विजेता नेदरल्यान्ड्सले अन्तिम १६ मा समूह ‘बी’ को उपविजेतासँग प्रतिस्पर्धा गर्नेछ। यता समूह ‘ए’ को उपविजेता सेनेगलले समूह ‘बी’ को विजेतासँग खेल्नेछ। समूह ‘बी’ मा इङ्ल्यान्ड, अमेरिका, वेल्स र इरान रहेका छन्। त्यस्तै सेनेगलले इक्वेडरमाथि २–१ को जितसहित समूह ‘ए’ को उपविजेताका रूपमा अन्तिम १६ मा स्थान बनायो।

चोटका कारण स्टार खेलाडी साडियो मानेलाई विश्वकपको पूर्वसन्ध्यामा गुमाएको सेनेगलले पहिलो खेलमा नेदरल्यान्ड्सलाई नतिजा सुम्पिएको थियो।

दोस्रो खेलमा कतारमाथिको जितसहित नकआउट चरणको सम्भावना कायम राखेको सेनेगलले जित्नै पर्ने दबाब रहेको खेलमा इक्वेडरलाई निराश पारेको थियो।

बराबरीको नतिजाले पनि अन्तिम १६ मा प्रवेश गर्ने सम्भावना बोकेको इक्वेडरले भने अन्तिम खेलमा उत्कृष्ट लय कायम राख्न सकेन। ४४औं मिनेटमा स्माइल सारको पेनाल्टी गोलमा सेनेगलले अग्रता लिएको थियो। ६७औं मिनेटमा मोइसिस काइडिसोको गोलमा इक्वेडर खेलमा फर्किएको थियो। तर त्यसको दुई मिनेटपछि नै कोलिवालीले गरेको गोलमा सेनेगलले अन्तिम १६ को टिकट काटेको हो। यसअघि फ्रान्स, ब्राजिल र पोर्चुगलले अन्तिम १६ मा स्थान बनाएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *