आजदेखि कोरोना बीमा दाबी भुक्तानी दिइँदै

Thankot Times

थानकोट ।

बीमा कम्पनीहरुले कोरोना बीमाको दाबी भुक्तानी बापतको पैसा आज मंगलबारबाट वितरण थाल्दैछ ।

सरकारले आफ्नो दायित्व स्वीकार गरी १ अर्ब रुपैयाँ पठाएसँगै सो मा बीमा प्राधिकरण र कम्पनीहरुले समेत रकम थप गरी मंगलबारदेखि दाबी भुक्तानी गर्न लागिएको हो ।

अर्थ मन्त्रालयले निकासा गरेको १ अर्ब रुपैयाँलाई ५५ प्रतिशत मानेर बाँकी ४५ प्रतिशत रकममध्ये ८ प्रतिशत प्राधिकरणले, १२ प्रतिशत नेपाल पुनर्बीमा कम्पनीले र २५ प्रतिशत बीमा कम्पनीहरुले वहन गर्ने मोडालिटी बीमा प्राधिकरणले र बीमा कम्पनीहरु मिलेर बनाएका थिए । सरकारले पठाएको १ अर्ब रुपैयाँ प्राधिकरण, पुनर्बीमा कम्पनी र बीमा कम्पनीहरुले थप गरी १ अर्ब ८१ करोड ८४ लाख ८४ हजार ८१४ रुपैयाँ बीमितमा भुक्तानी गर्न लागिएको थियो ।

तर, पुनर्बीमाले हालसम्म आफ्नो दायित्व वापतको २२ करोड रुपैयाँ पुलमा पठाएको छैन् ।

पुनर्बीमाले आफ्नो भागमा परेको पैसा नपठाएको कारणले आजदेखि १ अर्ब ६१ करोड रुपैयाँमात्रै दावी वापत बीमितमा वितरण हुने नेपाल बीमक संघले जनाएको छ ।

‘पुनर्बीले पैसा नपठाएपनि सरकार, प्राधिकरण र कम्पनीहरुबाट प्राप्त पैसा आजदेखि नै बीमितमा वितरण हुन्छ,’ नेपाल बीमक संघका अध्यक्ष चंकी क्षेत्रीले भने- ‘भोलीदेखि वितरण हुने दावी भुक्तानीमा २५ हजार बीमित छनौट भएका थिए । तर, प्राप्त पैसाले १६ हजार बीमितलाई मात्रै दाबी भुक्तानी वितरण गर्नपुग्छ ।

प्राधिकरण र पुलले गरेको सहमति अनुसार पहिलो चरणमा निजामती कर्मचारी र संस्थागत रुपमा बीमा गराएका बीमितहरु बाहेक व्यक्तिगत रुपमा कोरोना बीमा गराउने बीमितलाई वितरण गर्ने सहमति भएअनुसारको मोडालिटीमा दाबी भुक्तानी हुन लागेको उनको भनाइ छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *