मेक्सिकोविरुद्ध अर्जेन्टिनाको जित, कप्तान मेस्सी र फर्नान्डेजको गोल

थानकोट ।

अर्जेन्टिनाले विश्वकप फुटबलको समूह ‘सी’ को खेलमा मेक्सिकोलाई पराजित गरेको छ ।
कतारको लुजेल रंगशालामा भएको खेलमा अर्जेन्टिनाले मेक्सिकोविरुद्ध २–० गोलको जित निकालेको हो । अर्जेन्टिनाको जितमा कप्तान लियोनल मेस्सी र इन्जो फर्नान्डेजले गोल गरे ।
अर्जेन्टिनाले पहिलो हाफसम्म मेक्सिकोसँग बराबरी खेलेको थियो । गोल गर्ने केही मौका दुवै टिमले गुमाउँदा पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । तर दोस्रो हाफमा अर्जेन्टिनाले गोल गर्दै जित सुनिश्चित गरेको हो ।
खेलको ६४औँ मिनेटमा कप्तान मेस्सीले सुन्दर गोल गर्दै अर्जेन्टिनालाई १–० गोलको अग्रता दिलाए । खेलको ८७औँ मिनेटमा अर्जेन्टिनाले दोस्रो गोल थप्यो । यो पटक भने इन्जो फर्नान्डेजले गोल गर्दै अर्जेन्टिनालाई २–० गोलको जित दिलाए ।
यो जितसँगै अर्जेन्टिनाले विश्वकपको नकआउट चरणमा प्रवेश गर्ने आफ्नो सम्भावनालाई कायमै राखेको छ । मेक्सिकोविरुद्ध हार ब्यहारेको भए अर्जेन्टिना विश्वकपको समूह चरणबाटै बाहिरिने थियो । तर कप्तान मेस्सी र इन्जो फर्नान्डेजले अर्जेन्टिनालाई बचाएका छन् ।
विश्वकपमा समूह चरणको आफ्नो पहिलो खेलमा नै एसियन राष्ट्र साउदी अरबसँग २–१ गोलको हार ब्यहारेको अर्जेन्टिना ‘गर या मर’ को अवस्थामा आइपुगेको थियो । तर आफ्नो दोस्रो खेलमा जित निकाल्दै अर्जेन्टिनाले विश्वकप फुटबलमा आफ्नो यात्रालाई कायमै राखेको हो ।
दुई खेलबाट तीन अंक बनाएको अर्जेन्टिना दोस्रो स्थानमा उक्लिएको छ । यो समूहमा शीर्ष स्थानमा पोल्यान्ड रहेको छ । पोल्यान्डको दुई खेलबाट चार अंक छ । अब अर्जेन्टिनाले समूह चरणको आफ्नो अन्तिम खेल पोल्यान्डसँग मंसिर १५ गते राति १२ः४५ बजे खेल्नेछ । विश्वकप अन्तर्गत शनिबार सम्पन्न अन्य खेलहरुमा अष्ट्रेलिया, पाेल्याण्ड र फ्रान्स विजयी भए ।