घर अघिल्तिर खम्बाको बत्ती बलेन कि ? खम्बामा टाँसिएको नम्बरमा फोन गर्नुहोस्
थानकोट ।
चन्द्रागिरि नगरपालिकाले ‘उज्यालो चन्द्रागिरि अभियान’ अन्तर्गत नगर क्षेत्रभर सडक बत्ति जडानमा तिव्रता दिएको छ ।
सो अभियान अन्तर्गत हाल १ हजार २०० थान सडक बत्ति आवश्यकताका आधारमा नगरका मुख्य-मुख्य सडक मार्गहरूमा प्राथमिकताका साथ जडान भइरहेको छ ।
नगरका १५ वटै वडाहरूमा हाल ८० थानका दरले सडक बत्ति जडानको कार्य भइरहेको नगरप्रमुख घनश्याम गिरीले जानकारी दिनुभयो । नगरप्रमुख गिरीका अनुसार जडान भएका सबै सडक बत्तिमा फरक फरक संकेत नम्बर उल्लेख गरिएको छ । सडक बत्ति नबलेको खबर पाउनासाथ प्राविधिकहरूले मर्मत गर्नेछन् ।
हरेक खम्बामा सडक बत्तिसँगै संकेत नम्बर तथा प्राविधिकहरूको सम्पर्क नम्बरसमेत उल्लेख गरिएको हुँदा नगरबासीहरूले आफ्नो टोलमा सडक बत्ति नबलेमा तत्काल खबर गर्न सक्नेछन् नगरप्रमुख गिरीले भन्नुभयो ।
नगरपालिकाले जडान गरेका सबै सडक बत्ति भएका खम्बामा बत्ति जडान गरिएको वडा, बत्ति जडान भएको मिति तथा मर्मतका लागि प्राविधिक चाहिएको अवस्थामा सम्पर्क गर्न प्राविधिकको मोबाइल नम्बरसमेत टाँसिएको छ ।
उज्यालो चन्द्रागिरि अभियानका लागि चन्द्रागिरि नगरपालिकाले यसपटक दुई करोड पचास लाख रूपैयाँ विनियोजन गरेको छ जसबाट नगरक्षेत्रभर आवश्यकताका आधारमा क्रमश जडान गर्ने गरी यस वर्ष करिब पाँच हजार थान सडक बत्ती जडान गर्ने लक्ष्य लिएको छ ।
नगरप्रमुख गिरीले चन्द्रागिरि नगरपालिकाले केहि महिनाभित्र नै नगरका मुख्य मुख्य स्थानहरूमा निःशुल्क इन्टरनेट जडान तथा क्लोज सर्किट क्यामेरा जडानको कार्य सम्पन्न गर्ने समेत जानकारी दिनुभयो ।
चनपा वडा नं.१४ पानी ट्याङ्की सिला -पत्थर चोक सडकको पोलमा राखिएको बत्ती नबलेको वर्षौं भयो । मर्मत गरि दिनु पर्यो हजुर !